
काठमाडौं, असोज २३ – कोरोना भाइरसको खोप बनाउने र विभिन्न मुलुकमा २ अर्ब डोज वितरण गर्ने विश्वव्यापी अभियानमा चीन पनि औपचारिक रूपमा जोडिएको छ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले शुक्रबार कोभ्याक्स नाम दिइएको उक्त अभियानमा आफ्नो देश पनि जोडिएको जानकारी दिइन्।
पछिल्लो समय ठूला मुलुकहरूबीच देखिएको ‘खोप राष्ट्रवाद’ लाई छोडेर विश्वव्यापी अभियानमा जोडिने चीन सबैभन्दा ठूलो अर्थतन्त्र हो। ‘साझा समुदायको अवधारणालाई मजबुद् बनाउन र कोभिड-१९को खोप विश्वका सबै मानिसको पहुँचमा पुर्याउन गरिएको प्रतिबद्धतालाई सम्मान गर्न चीनले यो महत्वपूर्ण कदम चालेको हो,’ हुवाले ट्वीटरमा लेखेकी छन्। सुरूमा बेइजिङले कोभ्याक्स अभियानमा जोडिन ढिला गरेको थियो। यस अभियानमा विश्व स्वास्थ्य संगठन, गाभी, द भ्याक्सिन अलाइन्स र द कोलियसन फर एपिडिमिक प्रिपेडनेस एन्ड इनोभेसन्सलगायत संस्थाहरू छन्।