Fast Nepal News

चुनावी बहसमा ट्रम्प र बाइडेनबीच आरोप-प्रत्यारोप

banner single news

क्लिभल्यान्ड — आश्विन १५, २०७७।

अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि भएको बहसमा राष्ट्रपतिका उम्मेदवारद्वय डोनाल्ड ट्रम्प र जोन बाइडेन आरोप–प्रत्यारोपमा उत्रेका छन् ।

नोभेम्बर ३ मा हुने चुनावका प्रतिस्पर्धीबीच बुधबार पहिलोपटक प्रत्यक्ष बहस भएको हो । बहसका क्रममा वर्तमान राष्ट्रपति ट्रम्पले बारम्बार आफ्ना प्रतिस्पर्धी तथा पूर्वउपराष्ट्रपति बाइडेनलाई अवरोध पुर्‍याएका थिए ।

ट्रम्पको प्रस्तुति फितलो र अमर्यादित भएको भन्दै कपितयले टिप्पणी गरेका छन् । बाइडेनको प्रस्तुति भने भद्र र सकारात्मक भएको जनाइएको छ ।

विषेशगरी कोरोना भाइरस, अमेरिकी अर्थतन्त्र, रोजगारी, स्वास्थ्य सेवा, सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति, अन्तर्राष्ट्रिय राजनीतिलगायतका विषयमा बहस केन्द्रित भएको थियो । १५/१५ मिनेटको समय दिएर ६ भागमा प्रस्तुत गरिएको बहसमा विभिन्न विषयवस्तुहरु उठान गरिएको हो ।

राष्ट्रपति ट्रम्पले कर छलेको दाबीसहित समाचार सार्वजनिक भएका बेला चुनावी बहस भएको हो । बाइडेनले भने नियमअनुसार कर चुक्ता गरेका विवरणहरु सार्वजनिक गरिसकेका छन् ।

लामो समयदेखि धनाढ्य व्यवसायीका रूपमा मानिएका ट्रम्पले सन् २०१६ मा ७५० डलर मात्र आयकर तिरेको समाचार हालै सार्वजनिक भएको छ । समाचारमा उल्लेख गरिएको छ । तर बहसका क्रममा राष्ट्रपति ट्रम्पले आफूले करोडौं डलर कर तिरेको दाबी गरेका थिए ।

कर छलीसँगै कोरोना भाइरसबाट उत्पन्न महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै ट्रम्पको आलोचना हुँदै आएको छ । आफूमाथि आरोप आइरहेका बेला उनले उक्त आरोप बाइडेनतिर तेर्साएका थिए । बाइडेनले लामो समय विभिन्न जिम्मेवारी पाएर पनि प्रभावकारी काम गर्न नसकेको ट्रम्पको दाबी छ ।

‘तपाईंले ४७ वर्षमा गरेको भन्दा धेरै काम मैले ४७ महिनामा गरेको छु,’ ट्रम्पले बाइडेनलाई जवाफ दिँदै भनेका छन् । ट्रम्पको यो जवाफलाई उनका समर्थकहरुले बढी महत्त्व दिएर प्रचार गरेका छन् ।

Inside Article Ads

‘अमेरिकीहरुले अहिले पनि धेरै समस्याहरु झेलेका छन्, ती समस्याहरु बाइडेनले झन्डै आधा शताब्दी सार्वजनिक जिम्मेवारी सम्हाल्दा देखिका हुन्, उहाँले त्यसलाई समाधान गर्न कुनै सफलता हासिल गरेको देखिएको छैन, त्योभन्दा बढी त मैले छोटो समयमा गरेको छु,,’ ट्रम्पको दाबी छ ।

बहसका क्रममा ट्रम्पले आफ्नो ठाउँमा बाइडेन भएको भए अमेरिकामा भाइरसका कारण अझ धेरै मानिसले ज्यान गुमाउने दाबी गरे ।

बाइडेनले भने कोरोना भाइरसको महामारी नियन्त्रण गर्न ट्रम्पले कुनै योगदान गर्न नसकेको र अर्थतन्त्र सुधार तथा बचाउका लागि कुनै योजना नरहेको दाबी गरे । उनले राज्य मूकदर्शक भएको र व्यवसायीहरुलाई राहत नदिएको टिप्पणी गरे । मास्क प्रयोगको विषयलाई पनि ट्रम्पले गलत रूपले प्रस्तुत गरेको बाइडेनको भनाइ छ ।

बहसमा बाइडेन निकै कम मात्रै बोलेका थिए । उनी बोलिरहेको समयमा पनि ट्रम्पले पटक–पटक हस्तक्षेप गर्दै जवाफ दिने तथा खण्डन गर्ने गरेका थिए । अमेरिकाले कोरोनाबाट मृत्यु भएकाहरुको सही तथ्यांक सार्वजनिक गरेको तर भारत, रुस, चीनलगायत देशहरुले झूटा विवरण सार्वजनिक गरेको दाबी गरे । ट्रम्पका कतिपय दाबीलाई बाइडेनले हाँसेर हल्का बनाइदिएका थिए ।

कोरोना भाइरसको त्रासका कारण बहस प्रसारण गरिएको स्टुडियोमा यसपटक निकै थोरै मानिस मात्र सहभागी गराइएको थियो । बहस सुरु गर्नुअघि हात मिलाउने प्रचलन भए पनि यसपटक भने भाइरसकै कारणले दुई प्रतिस्पर्धीले हात मिलाएका थिएनन् ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई सँगै राखेर प्रत्यक्ष बहस गराउने प्रचलन लामो समयदेखि चल्दै आएको छ । टेलिभिजनहरुबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसका आधारमा मतदाताले मतदानका लागि निर्णय लिने भएकाले यसलाई महत्वका साथ हेर्ने गरिन्छ ।

(कान्तिपुर दैनिक)

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.