
२४ असोज, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको जनाएको छ । यो सँगै साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । आइतबार डेंगुबाट मृत्यु हुनेको संख्या ४२ थियो ।मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता ३३ हजार ९७५ जनामा डेंगु संक्रमण भइसकेको छ । हाल मुस्ताङबाहेक सबै जिल्ला देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् ।मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन ।पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । एडिज लामखुट्टेले दिउँसो टोक्ने हुँदा पूरा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ ।
साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुने चिकित्सकहरुको सुझाव छ ।
