
१
हजुरबुबा र हजुरअामासंग बसेर कुराकानि गर्दा कम अानन्द हुन्थेन।अनुहारमा सेता दारी-जुङ्गा, घरबुनाकाे टाेपी,भाेटाे र छड्के कछाडकाे पहिरन र प्राय हातमा लौराे लिएर हिडडुल गर्ने हजुरबुबाले मलाई चौपट्टै माया गर्नुुहुन्थ्याे।फुर्सदकाे समयमा पिंडिमा बसेर अत्यन्त रमाइला र ज्ञानबर्धक कथा सुनाउनु हुन्थ्याे।कतै घुमफिर गरेर बेलुका घर फर्कदा मेराेलागि पिपलमिठाई ल्याइदिनुहुन्थ्याे।मुख मिठ्याउदै म हजुरबुबालाई एकाेहाेराे हेरिरहन्थेँ।मेराे गालामा चिम्टंदै उहाँले च्वाप्प म्वाँइ खानुहुन्थ्याे।सेता र कडा दारी-जुङ्गाले घाेचेपछि मलाई हल्का रिस पनि उठ्थ्याे।म रिसाएर अनुहार बिगारिदिन्थ्येँ।हजुरबुबा झन रमाउदै मलाई जिस्क्याउनुहुन्थ्याे।
बिहान सबेरै उठेरभैसीलाई घाँस-पराल,दाना-पानी दिने,भकाराे साेहाेर्ने,दूध दुहुने र तताउने अनि बटुकाभरी ताताे दूध ल्याई मलाई फकाई-फकाई पियाउनुहुन्थ्याे।अाँफू पनि दूध पिउँदै अाराम गर्नुहुन्थ्याे र मलाई तानेर अाफ्नाे काखमा राख्दै अतितका भाेगाईलाई यसरी पस्कनुहुन्थ्यो :-“हाम्रा पालामा सुका(२५ पैसा)माना घ्यू थियाे,८रुपयाँमा छाकमा एकपाथी दूधदिने लैनाेभैसी किनेकाे थिएँ,दशैमा पाँच माेहाेर(५०पैसाकाे एक माेहाेर)मा किनेकाे खसी २१धार्नी भएथ्याे।दिनभरी कामगर्ने हली र बाउसेकाे ज्याला ३अाना(४पैसाकाे एकआना)थियाे,गाउँभरी भाराे-पर्म,ऐचाे-पैँचाे,इमान जमानकाे पक्ष ज्यादै सुन्दर थियाे।”जिउँदाकाे जन्ती मर्दाकाे मलामी”यसै भनिएकाे रहेनछ।अाफैले उत्पादन गरेकाे अन्न,तरकारी सागसब्जी,गेडागुडी,फलफूल,दूध,दही घ्यू,मही अादि खाइन्थ्याे।दिउँसाेभुटेकाे मकै र भट्टमास गय्राम-गय्राम चपाउँदै बाक्लाे माेहीसंग खाँदा कम अानन्द हुन्थेन।सम्झदा पनि मुखै रसाएर अाउने।ऐले तिमीहरुलाई भनेचाउचाउ,चाउमिन,कुरकुरे,लेस,चटपट,मम,पानीपुरी,काेक,फेन्टा अादि के के हाे के के नाम भन्न पनि अाउँदैन।ऐलेका बच्चाहरुले त बिषमात्रै खाएका छाै।यस्ताे खानाले स्वास्थ्यलाई खराब र राेगी बनाउछ।सम्झने शक्तिमा ह्रास ल्याई पढाइ-लेखाइमा पनि कमजाेर बनाउछ।”
हजुरबुबा भट्भट्याउँदै जानुहुन्थ्याे।म भने उहाँलाई “बूढा! वाहियात कुरा नगर्नुहास;उहिलेका कुरा खुइलिए”भनी अाँखा तरिदिन्थ्येँ।किनभने दिउँसाेकाे टिफिनकाे साेच गरेर चाउचाउ झाेलामा राखिसकेकाे थिएँ।
२
दुईचुल्ठी बाटेकाे केश,स्यूँदाेभरी राताे चमक्दार सिन्दुर,सिरमा चन्र्दमा,नाकमा फुली र बुलाँकी,कानमा ढुम्री र माडबरी,गलामा नौगेडी लगाउने मेरी हजुरअामाकाे नित्य पाेशाक भने गउनकाे साडी ,चौबन्दी चाेली,पहेलाे पटुकी अनि घलेक हुन्थ्याे।मलाई अाफ्नाे मुटुकाे धड्कन ठान्नुहुन्थ्याे।बेलुका अबेलासम्म अँगेनाकाे डिलमा बसेर देवी-देवता,भूत-प्रेत र राक्षसका कथा सुनाउनु हुन्थ्याे।भूत-प्रेत र राक्षसका कथा भनिरहँदा म अत्तालिएर उहाकाे काखमा टालिन पुग्थेँ।उहाले मलाई अंगालाेमा बाँधेर थमथम्याउनुहुन्थ्याे।सधैं मैले हाँसेकाे,रमाएकाे र खुसी भएकाे देख्नचाहने मेरी हजुरअामाले मलाई चौपट्टै माया गर्नुहुन्थ्याे। साँझ बिहान घरेलु धन्दा,दिनभरी मेलापात सकेर झम्के साँझमा घर अाउनुहुन्थ्याे।म साझ परेपछि हजुरअामालाई लिन घरदेखि निकै तल’बाँसेखाेल्सी’सम्म पुग्थेँ।उहालाई भेट्टाउनासाथ साडीमा गुटुमुटु हुँदै पटुकीमा हात पुर्याउथेँ।दिउसाेकाे खाजा अाँफूले नखाई मेराेलागि भनी नित्य पटुकीमा पाेकाे पारेर ल्याइदिनुहुन्थ्याे।म भने पटुकीकाे खाजालाई अाफ्नाे खल्तीमा स्थानान्तर गरि कुरुम-करुम चपाइदिन्थेँ खाइदिन्थेँ।-“रात पय्राे,बाटाेमा लामकीराे हुन्छ;बुईअाऊ!भन्दै मलाई पिठ्युँमा बाेकेर हजुरअामाले घरसम्म ल्याउनुहुन्थ्याे।
फुर्सदकाे बेला हजुरबुबाले जस्तै हजुरअामाले पनि अाफ्ना अतितका भाेगाइलाई यसरी व्यक्त गर्नुहुन्थ्याे।-“हाम्रापालामा ५घडी(२४मिनेटकाे १ घडी)रात छँदैमा पानीलिन कमेरेखाेल्सीमा पुग्नपर्थ्याे।मध्यरातमा उठेर ढिकी-जाँताे नगरे काम भ्याउन मुस्किल हुन्थ्याे।उज्यालाे हुने बित्तिकै घाँस-दाउरा लिन भिरचाेककाे पाखामा र अाहालपाटाकाे जंगलमा पुग्न पर्थ्याे।दिनभरि झरी -बादल,टन्टलापुर घामकाे प्रवाह नै नगरी मेलापात गय्राे;घरमा अाइपुगेर ठूलो घरपरिवारको धन्दा सिध्याउदा मध्यरात हुन्थ्यो ।कुनबेला सुतिन्थ्याे अाफैलाई थाहा हुन्थेन।तर पनि अाफैले उत्पादन गरेको पाेसिलाे खानेकुरा मात्र खाइन्थ्याे।तिम्राे बुबा जन्मदा सुत्केरी खानामा मात्रै ३पाथी त घ्यू खाएँहाेला।बिरौटामा काठेकाेल थियाे;त्याहाँ ताेरी,तिल,रायाे पेलिन्थ्याे।तेलकाे मगमग बासना चलाउँदै त्यहा नै वनभाेज खाने भनेर खाजा पकाएर खाँदा कति मज्जा हुन्थ्याे।प्राकृतिक खाना थियाे त्याे।तिमीहरु त खालि बिषादी खानेकुरामात्र मन पराउँछौ।बजारकाे बासीखाना,तारेकाे,भुटेकाे,प्लास्टिकमा प्याकगरेकाे खानेकुरा नखाऊ भन्दा सुन्यकान लगाउने हाेइन।पछि जवानी हुन नपाउदै शरीर कमजाेर हुँदै जाने,नानाथरी राेग
एकपछि अर्काे खलियाे लाग्ने,उपचार गर्दा धन-संपत्तीपनि सर्बनासहुने अादि यसकाे नतिजा पछि भाेग्नेछौ।अाँफू भने अब डाँडामाथि अाेरालाे लागेकाे घाम भइयाे।”
३
म पनि अब किशाेरावस्थामा लागिसकेँ।भविष्यमा मेरा पनि छाेरा-छाेरी,नातिनातिना हुनेछन।मलाई मेरा हजुरबुबा र हजुरअामाले’उहिलेका कुरा’सुनाए जस्तै मैले पनि मेरा छाेरा-छाेरी र नातिनातिनालाई के सुनाउनेहाेला?अल्छी भयाैँ,जंगफुड मनपरायौँ,विषादी खाना खायौँ,संस्कृतिलाई विकृति बनायौँ,पढाइमा ध्यान भएन,फेसबुकमा झुुम्मिइ रहन्थ्यौँ अादि अादि सुनाएर माफि माग्नुपर्ने भयाे।”अागाे ताप्ने मूडाकाे;कुरा सुन्ने बूढाकाे”भन्थे।सत्य रहेछ।
कति महान मेरा हजुरबुबा र हजुरअामा!भविष्यलाई उज्यालाे दिन अाफ्नाे वर्तमानमा कठाेर परिश्रम गरि सन्ततिकाे मुहारमा मुस्कान दिंदै अाँफूहरुभने चीर निन्द्रामा।संधै संधै मेराे प्रणाम छ मेरा हजुरबुबा र हजुरअामामा।मेरा पितृदेवतामा।
⛹️⛹️⛹️⛹️⛹️
