
काठमाडौँ — १९ श्रावण २०७८
काठमाडौँ, अफगानिस्तानमा तालिबान समूहले लगातार विभिन्न शहरमा आक्रमण गरी कब्जा जमाउने प्रयास गरिरहेको छ । पछिल्लो समय अफगान सुरक्षा फौज र अमेरिकी सेनाको कारबाहीका बाबुजद पनि तालिबानले हेलमन्ड प्रान्तको लश्कर गाहमा आक्रमण गरिरहेको छ ।प्रान्तीय राजधानी लश्कर गाह तालिबानको कब्जामा पुगेमा अफगानी सरकारलाई ठूलो झट्का लाग्ने बताइएको छ । हेलमन्ड प्रान्त अमेरिकी र ब्रिटिस सेनाको अभियानको केन्द्र पनि थियो । लश्कर गाह सन् २०१६ पनि तालिबानको कब्जामा आउने पहिलो प्रान्तीय राजधानी हुन सक्ने खतरा रहेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
लश्कर गाहमा तालिबानले जित हात पारे विश्व सुरक्षाका लागि नै खतरा उत्पन्न हुने अफगानी सेनाका कमान्डरले बताएका छन् । ‘यो अफगानिस्तानको मात्रै युद्ध होइन, यो तानाशाही र स्वतन्त्रताबीचको लडाइँ हो,’ अफगानी सेनाका मेजर जनरल सामी सादातले बीबीसीसँगको कुराकानीमा भनेका छन् ।त्यस्तै कन्दाहारमा पनि तालिबानले कब्जाको प्रयास गरिरहेको छ । आइतबार मात्रै तालिबानले कन्दाहार अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेको थियो । त्यस्तै अर्को शहर हेरातमा पनि अफगानी सुरक्षा फौज र तालिबानबीच संघर्ष जारी रहेको छ ।पछिल्लो समय तालिबानले शक्ति आर्जन गर्नुमा सेना फिर्ता बोलाउने अमेरिकी निर्णय भएको अफगानिस्तानका राष्ट्रपति अश्रफ घानीले आरोप लगाएका छन् । ‘अहिलेको अवस्था आउनुको कारण अचानक निर्णय लिइनु हो,’ संसद्मा राष्ट्रपति घानीले भनेका थिए । त्यस्तै उनले वासिंटनलाई समेत चेतावनी दिँदै यसको परिणाम भोग्नुपर्ने बताएका छन् ।
अमेरिकाले सेप्टेम्बर ११ सम्म सबै सेना फिर्ता गरिने घोषणा गरिसकेको छ । राष्ट्रपति बाइडेन प्रशासनले बढ्दो हिंसाका कारण अमेरिकी सेनासँग काम गरिरहेका केही हजार शरणार्थीलाई समेत अमेरिका लैजाने बताएको छ । यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले तालिबानको ‘अत्याचार’ अस्वीकार्य रहेको बताएका छन् ।सन् २००१ मा सत्ताबाट बाहिरिएपछि तालिबान सत्तामा आउन निरन्तर युद्ध लडिरहेको छ । पछिल्लो २० वर्षमा झन्डै आधा अफगानिस्तानमा तालिबानले शासन गरिरहेको छ । बीबीसीको अफगानी सेवाको अनुसन्धानअनुसार घाज्नी, मैदान वार्दाक प्रान्तमा तालिबानको पकड बलियो रहेको छ । त्यस्तै कुन्दुज, हेरात, कन्दाहार र लश्कर गाहमा पनि उनीहरुले आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेका छन् ।
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिका अलकायदाले आक्रमण गरेको थियो । त्यसपछि अमेरिकी सेना र नेटो तथा क्षेत्रीय गठबन्धनले नोभेम्बरमै तालिबानलाई सत्ताबाट हटाएको थियो । अफगानिस्तानमा अर्बौं डलर खर्च र अन्तर्राष्ट्रिय उपस्थितिका बाबजुद पनि तालिबानले आफूलाई बलियो बनाउँदै गएको देखिन्छ ।यो वर्ष मात्रै सरकार–तालिबान द्वन्द्वका कारण १ हजार ६ सय जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यस्तै यसै वर्ष मात्र ३ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । विस्थापितमध्ये केहीले छिमेकी शहर तथा गाउँ र केहीले छिमेकी मुलुक ताजिकिस्तानमा समेत शरण लिन पुगेका छन् ।
(कान्तिपुर दैनिक)
