Fast Nepal News
Banner Below header

भोकमरी १३ करोडले बढेर ८० पुगे ,खाद्यसंकट तत्काल रोक्न जरुरी

banner single news

विश्वमा अत्यधिक भोकमरीमा रहेको जनसंख्या गत वर्ष १३ करोडले बढेर ८० करोड पुगेको छ। यो जनसंख्या हालसम्म कोभिड–१९ ले संक्रमितको तुलनामा ८ गुणाले बढी हो। विश्व समुदायले भोकमरीलाई समयमै सम्बोधन गर्न नसके कठोर अनिकालको अवस्था सिर्जना हुन सक्छ।

जलवायु परिवर्तन, द्वन्द्व र कोभिड–१९ को विषाक्त मिश्रणले विश्वका गरिब र जोखिममा रहेका राष्ट्र अत्यधिक प्रभावित भएका छन्। यही कारण विश्वका साढे २३ करोड मानिसलाई सन् २०२१ मा मानवीय सहायता र सुरक्षा आवश्यक पर्छ। यो जनसंख्या गत वर्षको भन्दा ४० प्रतिशतले बढी हो। यो कम आकलन गर्न मिल्ने विषय होइन। हरेक तथ्यांकपछाडि मानवीय जीवन रहेको छ। सबैभन्दा अत्यधिक जोखिममा रहेका जनतालाई कोरोना भाइरसभन्दा अरू खाले प्रभाव झन् घातक हुनेछन्। कोभिड–१९ का कारण सिर्जना भएको भोकमरीको महामारीले झन् धेरै संख्यामा मानिसको मृत्युको कारक हुन सक्ने देखिएको छ। गत वर्ष विश्वमा अत्यधिक भोकमरीमा रहेको जनसंख्या अहिले १३ करोडले बढेर ८० करोड पुगेको छ।

द्वन्द्वमा फसेका र जलवायु परिवर्तनले प्रभावित देश खाद्य असुरक्षाको अत्यधिक जोखिममा छन्। भोको पेटले समग्र पुस्तालाई प्रभावित पार्दछ।

विभिन्न देशका सरकारले कोरोना महामारीबाट प्रभावित जनता र अर्थतन्त्रलाई जोगाउन अत्यधिक ध्यान दिँदा विभिन्न खाले अनिकालको स्थिति सिर्जना हुन सक्ने देखिएको छ। वर्तमानमा अन्तर्राष्ट्रिय ऐक्यभावले समेत यस्तो विपत्ति रोक्न कठिन देखिएको छ। तर अनिकाल र खाद्य असुरक्षाको स्थिति रोक्न गरिने विवेकपूर्ण लगानी सबैका लागि हितकर हुनेछ। यसो भन्दाभन्दै पनि हामीले गर्ने प्रतिडलर लगानीको प्रतिफल सुनिश्चित हुनुपर्छ। यसै कारणले संयुक्त राष्ट्रसंघ र विश्व बैंकले मानवीय आवश्यकताको परिपूर्तिमा लगानी बढाएका छन्। के कुरा प्रस्ट भएको छ भने मानवीय आवश्यकताको समयमै सम्बोधन हुन सकेमा यसले संकट निवारणमा प्रभावकारी सहयोग पुग्छ र मानवीय संकट टर्न सक्छ। समयमै गरिने यस्तो लगानीको लागत मूल्य पनि कम हुन्छ। यस्तो रणनीतिले परिश्रम गरेर प्राप्त भएका विकासका प्रतिफललाई पनि सुरक्षित राख्छ।

उदाहरणका लागि संयुक्त राष्ट्रसंघ र रेडक्रसले बंगलादेशमा जोखिममा रहेका जनतालाई गत वर्ष नगद सहयोग गरे, जसका कारण उनीहरूको जनजीवन र चौपायालाई बाढीले पुर्‍याउने हानिलाई न्यून पारियो। समयमै र संकट आउनुअघि गरिएको यो सहयोगको मात्रा बाढी आइसकेपछि हुने क्षति सम्बोधन गर्दा आवश्यक पर्ने सहयोगको तुलनामा आधाले कम थियो। यसले अत्यधिक जनसंख्यालाई सुरक्षा दियो।

Inside Article Ads

यही रणनीतिअनुरूप वर्तमान खाद्य असुरक्षालाई पूर्णतः अनिकालको स्थितिमा परिवर्तन हुनबाट रोक्न रोकथाममूलक विधि अवलम्बन गर्न आवश्यक छ। यसका लागि कठोर मौसम, किराको प्रकोप, न्यून आय, कमजोर खाद्य शृंखला र द्वन्द्वजस्ता खाद्य असुरक्षाका कारकलाई सम्बोधन गर्न आवश्यक छ, जसले अन्ततः भविष्यमा आउन सक्ने संकट टाल्न सकियोस्। यही उद्देश्यअनुसार विश्व बंैकअन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग नियोग (आइडिए) ले गत वर्षको अप्रिलदेखि अक्टुबरसम्म अति गरिब राष्ट्रलाई ५ अर्ब ३० करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यो रकम कोभिड–१९ को अल्पकालीन प्रभावलाई न्यून गर्न र दीर्घकालीन खाद्य असुरक्षालाई रोक्न उपयोग गरिनेछ।

विश्व बैंकले विद्यमान परियोजनाबाट विषयान्तर गरेर बंगलादेशका ६ लाख २० हजार साना डेरी तथा कुखुरापालक किसानलाई सहयोगस्वरूप नगद दिएको छ। यसैगरी हैटीमा महामारीले विप्रेषणमा ह्रास आउने भएका कारण आइडिएले किसानलाई सुरक्षा दिन बीउ तथा मलखादमा सहयोग गर्नुका साथै सानाखाले सिँचाइ परियोजनामा लगानी बढाएको छ। जसले उनीहरूको संकट थेग्न सक्ने क्षमता बढाएको छ। बिस्तारै सिर्जना हुने खाद्यसंकट र रोगको महामारी थेग्न आइडिएले आफ्नो संकट प्रतिकार्य गर्ने बिन्डो (क्राइसिस रेसपोन्स बिन्डो) मार्फत ५० करोड अमेरिकी डलरबराबरको आर्थिक सहायता पनि उपलबध गराएको छ। यस्तै हिसाबमा सन् २०२० को जुनमा संयुक्त राष्ट्रसंघीय संकट व्यवस्थापन कोष (इमरजेन्सी रेस्पोन्स फन्ड) ले सोमालियामा खाद्यसंकट रोक्न सहयोग गरेको थियो। बाढी, सलहको प्रकोप तथा कोभिड–१९ को नकारात्मक प्रभावलाई सम्बोधन गर्न यो सहयोग गरिएको थियो। यसैगरी समयमै जमिनमुनिबाट पानी निकाल्न सहयोग गरेर संयुक्त राष्ट्रसंघले पानीको स्रोतमा हुने द्वन्द्व निवारण गरेको छ। यो सहयोगले चौपाया स्वस्थ रहन सके, ठूलो स्तरमा हुने जनसंख्याको विस्थापन रोकियो।

कोभिड–१९ रोकथामका लागि खोपको विकास सफलतातर्पm उन्मुख रहेकाले यसले विश्वमा आशाको सञ्चार गराएको छ। तर अझै पनि जोखिममा रहेका राष्ट्रको आय, शिक्षा, स्वास्थ्य, पोषण, तथा समग्र अर्थतन्त्र जस्ता क्षेत्रमा महामारीले दीर्घकालीन प्रभाव पर्ने देखिन्छ। यस्तो संकट निवारणमा गरिने यथाशीघ्र प्रतिकार्यले संकट कम दुखदायी हुन सक्छ। त्यसैले हामीले एकातिर तत्काल जोखिमको अनुगमन गर्न आवश्यक छ अर्काेतिर जोखिमलाई बढावा दिने कारकतत्वलाई सम्बोधन गर्न उत्तिकै जरुरी छ। यसले संकटलाई भविष्यमा गहिरिन दिँदैन। तत्कालको प्रतिकार्य विवेकसंगत, नैतिकपूर्ण र कम लागतको रहन्छ। जीवनको रक्षा र परिवर्तनका लागि सबैको सहकार्य आवश्यक छ। अत्यधिक जोखिममा रहेको विश्वको जनसंख्यालाई भोकमरी र असुरक्षाबाट जोगाउन यसो गर्न आवश्यक छ। यसले अन्ततः सबैको लागि सुखद भविष्य सुनिश्चित गर्छ।

(मार्क लोक संयुक्त राष्ट्रसंघका उपसचिव र एक्जेल भान ट्रोटसेनवर्ग विश्व बैकंको अपरेसन डाइरेक्टर हुन्। लेखकद्वयको प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित यो आलेख नेपालीमा भावानुवाद गरिएको हो।)

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.