
सुदूरपश्चिम प्रदेशको बिकट हिमाली जिल्ला बाजुराको बुढीनन्द गाउँपालिकामा अब उच्चगतिको ४जी इन्टरनेट सेवा सुचारु भएको छ। नेपाल टेलिकमले गाउँपालिकाको वडा नम्बर ७ मा नयाँ ४जी एलटीई टावर जडान गरी सेवा सञ्चालनमा ल्याएको हो।
यो टावरबाट बुढीनन्दका वडा नम्बर ७, ८, ९ र १० का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै मार्तडी–कोल्टी मार्ग र आसपासका बस्तीहरूमा पनि इन्टरनेट तथा मोबाइल सञ्जालमा सुधार आएको स्थानीयहरूले बताएका छन्।
यसअघि यस क्षेत्रमा भ्वाइस र डेटा सेवा घाम लागेको बेला मात्रै चल्ने गरेको गुनासो स्थानीयहरूले गर्दै आएका थिए। नयाँ टावर सञ्चालनमा आएपछि अब आपतकालीन सम्पर्क, अनलाइन कारोबार, र पारिवारिक सन्देश आदान–प्रदान सहज भएको छ।
नेपाल टेलिकमका अधिकारीहरूका अनुसार सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलको निर्देशनपछि दुर्गम तथा हिमाली क्षेत्रमा संचार सेवा विस्तारलाई तीव्रता दिइएको हो। मन्त्री खरेलले “सञ्चार पहुँच प्रत्येक नागरिकको अधिकार हो” भन्दै सबै जिल्लामा समान सेवा सुनिश्चित गर्न टेलिकमलाई निर्देशन दिएका थिए।
नेपाल टेलिकमले हाल सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, दार्चुला, डोटी, अछाम र बैतडीका दुर्गम स्थानहरूमा नयाँ टावर जडान र पुराना टावरहरू अपग्रेड गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ।
यस विस्तारसँगै हिमाली भू–भागका नागरिकले अब शिक्षादेखि स्वास्थ्य, व्यापारदेखि प्रशासनिक कार्यसम्मका डिजिटल सेवा सहजै लिन सक्ने भएका छन्। साथै, पर्यटन मार्ग हुँदै आउने यात्रु र विदेशी पर्यटकहरू पनि अब सञ्जाल सुविधाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ।
