
लमजुङ । नेपाल तरुण दल लमजुङका आठ स्थानीय तहका अध्यक्षहरूले जेठ ८ गते एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै गत शनिबार सम्पन्न पाँचौँ जिल्ला अधिवेशनका क्रममा उत्पन्न विवादप्रति दुःख व्यक्त गरेका छन्। वक्तव्यमा अधिवेशनको उद्घाटन समारोहमा भएको असहज घटनाले चोट पुग्नेलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै समस्त तरुणहरुलाई एकताबद्ध हुन अपील गरिएको छ।
संयुक्त वक्तव्यमा वेसीशहर, मध्यनेपाल, राईनास, सुन्दरबजार नगरहरू तथा मस्याङ्दी, दोर्दी, क्व्होलासोथार र दूधपोखरी गाउँपालिकाका अध्यक्षहरूको नाम उल्लेख छ। उनीहरूले अधिवेशनको क्रममा केन्द्रीय सदस्य वृषराज गुरुङ, जिल्ला कार्यवाहक अध्यक्ष कुमरासी गुरुङ (भुपेश), पूर्व क्षेत्रीय अध्यक्ष खुसिजंग गुरुङ र उम्मेदवार हिरा गुरुङबीच भएको सहमतिको स्वागत गरेका छन्। सो सहमतिअनुसार हिरा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।
वक्तव्यमा दलभित्रको एकता, सहमति र सहकार्यलाई प्राथमिकता दिनुपर्ने जोड दिइएको छ। “नेपाल तरुण दललाई मजबुत र एकतावद्ध बनाउन सहमतिविपरीत कुनै गतिविधि नगर्न हार्दिक अनुरोध गर्दछौं,” वक्तव्यमा उल्लेख गरिएको छ।
त्यस्तै, अधिवेशनमार्फत सम्पन्न उम्मेदवारी मनोनयन तथा निर्वाचन कार्यक्रमलाई अनुमोदन गरि सार्वजनिक गर्न केन्द्रीय कार्यालयलाई अनुरोध गरिएको छ।
युवा संगठनभित्रको नेतृत्व विवादले पार्टीको आन्तरिक एकता कमजोर पार्ने संकेत भइरहेका बेला आएको यो संयुक्त वक्तव्यले लमजुङमा तरुण दलको एकता पुनःस्थापनाको संकेत दिएको छ।