
काठमाडौँ । साहित्यकार शान्ताकुमारी पौडेलद्वारा लिखित पुस्तक “अविश्रान्त पाइलाहरू” राजधानीस्थित प्रज्ञा भवनमा एक विशेष समारोहबीच भव्य रूपमा लोकार्पण गरिएको छ। महिला जागरण तथा दृश्य केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री तथा राष्ट्रिय सभा सदस्य कमला देवी पन्त, संघीय सांसद ज्ञानु पौडेल, नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा लगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो। लेखिका शान्ताकुमारी पौडेलले “अविश्रान्त पाइलाहरू” आफ्नो जीवन भोगाइको अभिव्यक्ति भएको बताउँदै परिवार, सहकर्मी र शुभेच्छुकहरूको सहयोगले पुस्तक प्रकाशन सम्भव भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “यो मेरो मात्र कथा होइन, हजारौं नेपाली महिलाहरूको साझा अनुभव हो।” कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले उक्त कृतिले महिलाका मौन वेदना र संघर्षलाई उजागर गरेको बताउनुभयो। “यो पुस्तक केवल कथा होइन, महिलाको जीवन भोगाइबाट निस्किएको प्रेरणाको स्रोत हो,” उहाँले भन्नुभयो। संघीय सांसद पौडेलले पुस्तकले केवल महिलाको कथा मात्र नभई तत्कालीन समाजको यथार्थ चित्रण गरेको उल्लेख गर्दै यसले महिलाको सशक्त आवाजलाई स्थापित गरेको बताउनुभयो। पूर्व सचिव ओझाले पुस्तकले समाजलाई दिशानिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार लेखिकाको सरकारी सेवाकालीन अनुभव, संघर्ष र व्यक्तित्व पुस्तकमा स्पष्ट रूपमा प्रतिबिम्बित भएको छ। महिला मानवअधिकारकर्मी डा. रेनु अधिकारीले यस कृतिलाई महिला सशक्तीकरणको महत्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गर्नुभयो। कार्यक्रममा पुस्तकका समीक्षकत्रय प्रा. डा. बिना पौडेल, रमेश पौडेल र शान्ता लक्ष्मी श्रेष्ठले यो कृति केवल आत्मकथा नभई यात्रा संस्मरण र सामाजिक इतिहासको दस्तावेज भएको उल्लेख गर्नुभयो। समीक्षकहरूले पुस्तकमा विकासका विभिन्न चरण, सामाजिक परिवेश तथा ग्रामीण जीवनका यथार्थ चित्रण गरिएको उल्लेख गर्दै समीक्षा क्रममा पढ्दा भावुक बनाउने घटनाहरूको समेत सबिस्तार प्रस्तुति रहेको बताए। कार्यक्रममा स्वागत मन्तव्य राख्दै लेखिका पौडेलका श्रीमान पूर्ण घिमिरेले लेखिकाको व्यक्तित्व, समर्पण र संघर्षपूर्ण यात्राबारे प्रकाश पार्नुभयो भने कार्यक्रमकी सभापति सुशीला शर्माले पुस्तक लोकार्पण जस्तो गहन जिम्मेवारी महिला जागरण तथा दृश्य केन्द्रलाई प्रदान गरिएकोमा लेखिकाप्रति साधुवाद व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल, साहित्यकार मुकुन्द पौडेल, राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्दिरा ढकाल, सामाजिक अगुवा मीना खरेल लगायतको उपस्थिति रहेको थियो। पुस्तकमा विशेषगरी मध्यमवर्गीय तथा ग्रामीण महिलाहरूको जीवन भोगाइ, संघर्ष, आशा र पीडालाई समेटिएको छ। लेखिकाले महिला विकास अधिकृतका रूपमा आफूले देखेका, भोगेका तथा अनुभव गरेका जीवनका अनुभूतिहरूलाई आधार बनाएर समाजका विभिन्न भूगोल, संस्कार र अवस्थाहरूलाई पुस्तकमार्फत सजीव रूपमा चित्रण गर्नुभएको छ।
