
काठमाडौं ।मनास्लु संरक्षण क्षेत्र आयोजना अन्तर्गत पर्यटक तथा वन पैदावार चेकपोस्ट छेकम्पार कार्यालय मिति २०८२ साल मंसिर २९ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
चेकपोस्ट सञ्चालनको अवसरमा आयोजित परिचयात्मक कार्यक्रममा संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष छिरिङ वाङेल, सचिव सोनाम पाल्जोर, मनास्लु संरक्षण क्षेत्र आयोजना का कर्मचारीहरू, आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरू, सुरक्षाकर्मी, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सहभागीहरूले चेकपोस्ट सञ्चालनले यस क्षेत्रको संरक्षण, व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए। छेकम्पारस्थित CAMC समूह तथा आमा समूहले चेकपोस्टको भव्य स्वागत गर्दै संरक्षण र विकासका काममा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
यसअघि मनास्लु संरक्षण क्षेत्र अन्तर्गत सामागाउँ र जगतमा मात्र पर्यटक तथा वन पैदावार चेकपोस्ट सञ्चालनमा रहेका थिए। अब छेकम्पारबाट समेत चेकपोस्ट सञ्चालनमा आएपछि यस क्षेत्रका स्थानीय बासिन्दाले सामान्य प्रशासनिक तथा आयोजनासम्बन्धी कामका लागि सिर्दिबाससम्म पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
चेकपोस्टमार्फत आन्तरिक तथा बाह्य पर्यटकको दर्ता तथा तथ्यांक संकलन, संरक्षण क्षेत्र प्रवेश–निस्कने पर्यटकको अनुगमन, वन पैदावारको अवैध ओसारपसार नियन्त्रण, अनुमतिपत्र जाँच, संरक्षण क्षेत्रका नियम, कानुन र आचारसंहिता कार्यान्वयन, वातावरण संरक्षण, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सहयोग, स्थानीय समुदाय, CAMC तथा आमा समूहसँग समन्वय, पर्यटकलाई आवश्यक सूचना, निर्देशन र सचेतना प्रदान, संरक्षण क्षेत्रभित्र हुने गतिविधिको अनुगमन तथा नियमित प्रतिवेदन तयारी लगायतका कार्यहरू गरिने जनाइएको छ। साथै आकस्मिक अवस्थाहरूमा सुरक्षाकर्मी र सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक सहजीकरण गरिनेछ।
हाल छेकम्पार चेकपोस्टमा एक जना प्राकृतिक स्रोत संरक्षण सहायक तथा एक जना कार्यालय सहयोगी कार्यरत रहेका छन्। विगत आठ महिनासम्म सामागाउँ चेकपोस्टमा सफलतापूर्वक कार्यकाल पूरा गरिसकेका लमजुङ निवासी सुबास मजाकोटीलाई आयोजनाले पर्यटक तथा वन पैदावार चेकपोस्ट छेकम्पारको कार्यालय इन्चार्जको जिम्मेवारी दिएको छ।
चेकपोस्ट सञ्चालनसँगै संरक्षण क्षेत्रको व्यवस्थापन सुदृढ हुनुका साथै पर्यटक व्यवस्थापन र स्थानीय सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
