Fast Nepal News

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालको २१औँ साधारणसभा: गुणस्तरीय सेवा विस्तार, आधुनिक प्रविधि र करोडौँको संरचनात्मक विकास

banner single news

काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी वर्षहरूमा सेवा–गुणस्तरलाई नयाँ उचाइमा पु¥याउने घोषणा गर्दै आधुनिक प्रविधि, भौतिक पूर्वाधार विस्तार र अनुसन्धानलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

अस्पतालमा आयोजित २१औँ वार्षिक साधारणसभामा अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले आँखा उपचार क्षेत्रमा विश्वस्तरका प्रविधि भित्र्याई दूरदराजसम्म पहुँचयोग्य गुणस्तरीय सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार अस्पतालले अहिले २४ वटा विशेषज्ञ अनुसन्धानपत्र तयार गर्दै अनुसन्धानमैत्री वातावरण निर्माण गरेको छ।

अस्पतालले गत आर्थिक वर्ष २०८१/८२ मा एक लाख ६४ हजार ५७० बिरामीको आँखा परीक्षण तथा १० हजार ३९० शल्यक्रिया सम्पन्न गरेको थियो। चालु वर्षमा अस्पतालले एक लाख ७७ हजार ५०० बिरामी परीक्षण र साना–ठूला गरी १२ हजार ५३० शल्यक्रिया गर्ने लक्ष्य लिएको छ। अस्पतालमा हाल १६ नेत्र विशेषज्ञसहित १४१ कर्मचारी कार्यरत छन्।

आर्थिक प्रतिवेदन अनुसार गत आवमा अस्पतालको कूल सम्पत्ति रु ७२ करोड ५४ लाख ७५ हजार ४५० पुगेको छ। सो अवधिमा रु २५ करोड २५ लाख ८० हजार आम्दानी भएको छ भने रु ५ करोड ४६ लाख ६० हजार बराबरका नयाँ उपकरण र सवारी साधन थपिएको छ।

Inside Article Ads

अस्पतालको विभिन्न बैंक तथा अक्षयकोषमा रु ३१ करोड ३६ लाख ८९ हजार २१४ नगद भण्डार रहेको कोषाध्यक्ष अनिलप्रसाद गोर्खालीले बताए। आगामी आवका लागि अस्पतालले रु ३४ करोड ५६ लाख ६२ हजारको बजेट प्रस्ताव गरेको छ, जसमा रु ६ करोड ५१ लाख ४० हजार पुँजीगत खर्चका लागि विनियोजन छ।

अस्पतालले गत वर्ष राजधानीबाहिर १५ वटा निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गर्दै रु ३५ लाख बराबरका चस्मा र औषधि वितरण गरेको थियो।

काठमाडौं महानगरका पूर्वप्रमुख राजाराम श्रेष्ठले नेपाल आँखा अस्पताललाई दक्षिण एशियाकै नमुना आँखा अस्पतालका रूपमा स्थापित गर्न सकिने उल्लेख गर्दै सबैको सहकार्य आवश्यक रहेको बताए।

साधारणसभाले २०८२/८३ को नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन र २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले आगामी वर्षको रणनीतिले अस्पताललाई अझै सुदृढ बनाउने विश्वास व्यक्त गरे।

Visited 19 times, 2 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.