
काठमाडौं । सूचक प्रकाशनले आफ्नो स्थापनाको १६औं बार्षिकोत्सव भव्यताको साथ मनाएको छ ।
शिक्षासेवी केदारनाथ श्रेष्ठले अध्यक्षता गरेको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ कवि डा. विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सहजीकरण लोमश वाङ्मय प्रतिष्ठानका सचिव नवीन पल्लवले गरेका थिए ।

उक्त कार्यक्रमको अवसरमा सूचक प्रकाशनले बिभिन्न १ दर्जन बिधाका स्रष्टाहरुलाई पुरस्कृत समेत गरेको थियो । जसमा लोमश वाङ्मय प्रतिष्ठानका सल्लाहकार रूबि सत्याल,आजीवन सदस्य विमल अर्याल,इन्दिरा सापकोटा, मोहम्मद जाकिर हुसेन, शैक्षिक अभियन्ता लालबहादुर चौधरी, कबा साप्ताहिकका संस्थापक सम्पादक तथा प्रकाशक निबन्ध आचार्य, समाजसेवी अनिल कुमार महर्जन, ऋषभदेव घिमिरे, विमला अधिकारी, मणिराज सिंह, बौद्ध साहित्यकार लोचनतारा तुलाधर साथै बौद्ध लेखक प्रा।डा। त्रिरत्न मानन्धर रहेका छन् ।
समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ कवि डा. विष्णुविभु घिमिरेले पठन संस्कार खिइँदै गएकामा दुःख व्यक्त गर्दै आज सम्मानित व्यक्तित्वहरू अत्यन्त अनुकरणीय भएकाले समारोहमा आफैँ सम्मानित भएको अनुभूति भएको बताए । घिमिरेले व्यक्ति व्यक्तिमा त अहङ्कार छँदै थियो अहिले त राज्यमा पनि अहङ्कार देखियो भन्दै हामी मान्छे भएर बाँच्नुपर्ने ज्ञानको खाँचो औँल्याए । अब आध्यात्मिक चेतनाको खाँचो भएको त होइन ? भन्ने प्रश्न तेस्र्याए । अहिले सूचकले गरेका कर्म अत्यन्त अनुकरणीय भएको दाबी गर्दै सबैको साथ र समर्थन सूचकलाई रहोस् भन्ने कामना गरे । भगवान्लाई सम्झेर जीवन बोध गरियो भने आजका अधिकांश समस्या छुमन्तर हुने जिकिर गरे । लेखक र समाजसेवीलाई उत्प्रेरित गर्ने सूचकलाई धन्यवाद ज्ञापन गर्दै समाजसेवी केदारनाथ र लीलादेवीप्रति आफू नतमस्तक रहेको घिमिरेले खुलासा गरे ।
समारोहका विशेष अतिथि वरिष्ठ साहित्यकार जलेश्वरी श्रेष्ठले आफूलाई सम्मानित गरेकोमा सूचकको सराहना गर्दै बौद्ध दर्शन, साहित्य र समग्र नेपाली साहित्यलाई एउटै कडीमा जोड्ने एकमात्र संस्था सूचक भएकाले यसको उन्नयन र समुत्थानका निम्ति सबैलाई आग्रह गरिन् । उनले अध्यक्ष दीपक भेटुवालको मुक्तकण्ठले प्रशंसा गरिन् ।
सम्मान समारोहमा उपस्थितजनहरूलाई सङ्क्षिप्त तथा न्यानो स्वागत गर्दै बौद्ध दर्शनका अध्येता श्यामलाल चित्रकारले आफू छैठौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थबिरबाट विशेष प्रभावित र प्रशिक्षित भएको बताए ।
समारोहलाई सम्बोधन गर्दै स्रष्टा पदयात्राका महासचिव,अधिवक्ता तथा साहित्यकार गङ्गाप्रसाद भेटवालले दुई दशकसम्म अनवरत रूपमा सूचकले गरेको निस्स्वार्थ कर्मको सराहना गर्दै अबको प्रज्ञाप्रतिष्ठान यस्तै व्यक्तित्वहरूको हातमा हुनुपर्छ भन्ने राय प्रकट गरे । भेटवालले नेपाली साहित्य क्षेत्रले आरोहण गर्दै गरेको सोपानबारे पनि सङ्क्षिप्त चर्चा समेत गरे ।
सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवालले सूचक प्रकाशनले डेढ दर्जन वर्षसम्म गरेका सङ्घर्षका आरोह अवरोहदेखि छिचोलेका चुनौतीसम्मको सङ्क्षिप्त चर्चा गर्दै सम्मानित, पुरस्कृत र शिखर अभिनन्दित गर्नु सूचकको परम्परा नै बनिसकेको बताए । उनले आगामी दिनमा पुरस्कार राशिमा वृद्धि गर्ने प्रतिबद्धता समेत जनाए ।
सम्मानित व्यक्तित्वहरूको तर्फबाट बौद्ध दर्शनका अध्येता उप-प्राध्यापक डा. त्रिरत्न मानन्धरका साथै अभिनव साहित्य प्रतिष्ठानका उपाध्यक्ष, लोमश वाङ्मय प्रतिष्ठानका आजीवन सदस्य तथा साहित्यकार विमल अर्यालले सम्मानित भइसकेपछिका आफ्ना उद्वेलन तथा अनुभूति अभिव्यक्त गरेका थिए ।
