
काठमाडौं । भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा दृढ प्रतिबद्धता जनाउँदै, शान्ति, विकास र उत्पादनमार्फत समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ अघि बढिरहेको भ्रष्टाचार विरुद्ध नागरिक अभियान नेपाल प्रती युवाहरुको आकर्षण तीव्र रुपमा बढ्दै गएको छ।
देशभर संगठन विस्तारको घोषणा गरेसँगै, अभियानले काभ्रेपलान्चोक जिल्लाको खानिखोला गाउँपालिका–४ मा वडा समिति गठन गरी औपचारिक रुपमा स्थानीय तहमा विस्तारको सुरुवात गरेको हो।
लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय युवा रुपेश लोप्चनले काभ्रेपलान्चोकका लागि संगठन विस्तार तथा कार्यक्रम संयोजकको जिम्मेवारी सम्हालेका छन्। छोटो समयमै उनले आफ्नै वडाबाट अभियान विस्तारको कार्य अघि बढाएका हुन्।
खानिखोला–४ मा आयोजित भेलाले ङेमा थिङको संयोजकत्वमा २१ सदस्यीय वडा समिति घोषणा गरेको छ। समितिको सह–संयोजकमा श्याम वाजु र सोमबहादुर स्याङ्तान रहेका छन्। अन्य सदस्यहरूमा बिक्रम जिम्वा, सुरेश बल, छिरिङ थोकर, भीमबहादुर घलान, दिप बल, रजिना लोप्चन, समर जिम्बा, बिकलाल लोप्चन, शुकबहादुर घलान, प्रविन लोप्चन, चन्द्रध्वज स्याङ्तान, सरोज स्याङ्तान, प्रेमबहादुर लोप्चन, अबिल स्याङ्तान, सोमबहादुर स्याङ्तान, विजय जिम्बा, बुद्ध स्याङ्तान र शिबराज स्याङ्तान रहेका छन्।
कार्यक्रमका सहभागिहरूले वडास्तरमा हुने विकास निर्माणका कार्यहरू पारदर्शी बनाउन, र भ्रष्टाचारविरुद्ध निगरानी र खबरदारीको भूमिका निभाउने संकल्प व्यक्त गरेका छन्। काभ्रेपलान्चोकका कार्यक्रम संयोजक रुपेश लोप्चनका अनुसार, अब संगठनले स्थानीय सरकार, कार्यालय र योजनामा निगरानी र सचेतना अभियान सञ्चालन गर्दै भ्रष्टाचारलाई न्यूनतम तहमा झार्ने लक्ष्य राखेको छ।
लोप्चनले भने, “हामी अब वडा र पालिकास्तरमा सशक्त र सचेत नागरिक नेटवर्क बनाएर भ्रष्टाचारविरुद्धको जनआन्दोलनलाई संस्थागत रूपमा अघि बढाउँछौं।”उनका अनुसार आगामी चरणमा संगठनले पालिका र जिल्ला स्तरमा पनि सकृय समिति गठन गर्दै अभियानलाई राष्ट्रिय स्वरूपमा रूपान्तरण गर्ने योजना बनाएको छ।
