
लमजुङ, – नेपाल तरुण दल, लमजुङ जिल्ला कार्य समितिले हालै जारी गरेको प्रेस विज्ञप्तिमा आफ्नो नाम समेत समावेश गरिएकोप्रति असन्तुष्टि जनाउँदै लमजुङका कांग्रेस नेता तथा केन्द्रीय नेपाल भूपू सैनिक संघका अध्यक्ष गर्ज बहादुर गुरुङले गम्भीर आपत्ति प्रकट गरेका छन्।
उनले भनेका छन्, “म आयोजकको औपचारिक निमन्त्रणामा कार्यक्रम स्थलमा पुगेको हुँ। त्यही बेला उत्पन्न परिस्थितिमा म स्थिति सामान्य बनाउन प्रयासरत थिएँ, तर त्यसैलाई आधार बनाएर ममाथि एकपक्षीय आरोप लगाइनु दुर्भाग्यपूर्ण हो।”
गुरुङका अनुसार उनी लमजुङ कांग्रेसमा गुटबन्दीको अन्त्य गरी एकताबद्ध ढंगले अगाडि बढ्नुपर्ने पक्षमा छन्। उनले भने, “म सधैं गुटभन्दा माथि उठेर कांग्रेसलाई सुदृढ बनाउने पक्षमा छु। तर प्रेस विज्ञप्तिमा मेरो नाम अपुष्ट र गलत रुपमा उल्लेख गर्नु आपत्तिजनक छ।”
उनले केन्द्र र जिल्ला तह दुबै पक्षलाई अधिवेशन शान्तिपूर्ण र सहमतिपूर्वक सम्पन्न होस् भनेर त्रिपक्षीय पहल गरिरहेको जानकारी समेत दिएका थिए। तर कार्यक्रम स्थलमै केही व्यक्तिबाट अभद्र व्यवहार भएको घटनालाई तोडमोड गरी आफूमाथि आरोप लगाइएको भन्दै उनले गुनासो पोखेका छन्।
गुरुङले पार्टी सभापति र कार्यक्रम आयोजक अध्यक्षसँग फोनमार्फत सम्पर्क गरी घटनाको वास्तविकता प्रष्ट पारेको जानकारी पनि दिएका छन्।
घटनापछि उनले कांग्रेसभित्र सहकार्य र समझदारीका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै चारतारे झन्डा र रुख मुनि समर्पणका साथ कार्य गर्न सबैलाई आग्रह गरे। साथै, घटनामा घाइते भएका तरुण दलका कार्यकर्ताहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रेस विज्ञप्तिको गलत प्रस्तुति सच्याउन सम्बन्धित पक्षसँग माग गरेका छन्।
