Fast Nepal News

कञ्चनपुर कोरोनाको उच्च जोखिममा

banner single news

कञ्चनपुर – बैशाख ८

कञ्चनपुर, भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमा परेको छ । भारतबाट फर्केकामध्ये अधिकांशमा कोरोना भाइरस सङ्क्रमण देखा पर्न थालेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मङ्गलबारमात्रै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै फर्केका ७४० मध्ये २१४ जनाको एन्टिजेन परिक्षणमा ४५ जनाको परीक्षण नतिजा पोजेटिभ आएको छ ।

भारतीय शहरमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका हँुदै भारतबाट फर्कनेको सङ्ख्या दिनहुँ बढिरहेको छ । यसैगरी त्रिनगर (डोकेबजार) सीमा नाका भएर भारतबाट फर्केका ७१० मध्ये ४८९ जनाको एन्टिजेन परीक्षण गरिएकामा ६६ को परीक्षण नजिता पोजेटिभ आएको छ । कञ्चनपुरमा हालसम्म चार हजार ६४० जनाको एन्टिजेन परीक्षण गरिएकामा पोजेटिभको स¬ङ्ख्या ३११ रहेको छ ।

एन्टिजेन परीक्षणमा सक्रिय सङ्क्रमित २२८ छन् । पश्चिमी सीमा नाका गड्डाचौकी भएर आएका तीन हजार ६९४ को एन्टिजेन परीक्षण गरिएकामा १६५ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो । उहाँका अनुसार महाकाली अस्पतालको आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या ३० छ । आइसिएच आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या ५४ छ । हालसम्म जिल्लामा कोरोना सङ्क्रमणका कारण १६ जनाको मृत्यु भइसकेको छ ।

सार्वजनिकस्थलमा २५ भन्दा बढी व्यक्तिको जमघटमा रोक

कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिकस्थलमा २५ भन्दा बढी व्यक्ति जनमघट हुनमा रोक लगाएको छ ।

जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नका लागि आज बुधबारदेखि लागू हुने गरी आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताए ।

Inside Article Ads

उनका अनुसार भारतका विभिन्न प्रान्तमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै जान थालेकाले कञ्चनपुरसमेत उच्च जोखिममा रहेकाले जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नका लागि आग्रह गरिएको छ ।

“विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्नुपर्ने छ”, उनले भने, “सिनेमा हल, पार्टीप्यालेस, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ जिमखाना, स्वीमिङपुल, फुटसल, सभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ ।”

भीमदत्त नगरपालिकामा रहेका शैक्षिक संस्था वैशाख मसान्तसम्मका लागि भौतिकरूपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाइ सञ्चालन गर्नुपर्ने छ । धार्मिक क्रियाकलाप तथा विवाहलगायतका कार्यमा २५ भन्दा बढी व्यक्ति उपस्थित नहुने, सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने, यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सवारी साधन दैनिकरूपमा निसङ्क्रमित गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

होटल तथा रेष्टुरन्ट बिहान ८ देखि साँझ ८ बजेसम्म मात्रै खोल्न पाइने छ । बैंक तथा वित्तीय संस्थामा सेवा तथा कार्यका लागि विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने बैठकको निर्णय रहेको छ । स्थानीय तहले होम क्वारेन्टिन र होम आइसोलेसनमा बसेका व्यक्तिको स्वास्थ्य निगरानी तथा अनुगमन गरी थप जाँचका लागि आवश्यक पर्ने देखिएमा प्रयोगशाला वा अस्पतालसँग समन्वय गरी सहजीकरण गर्नुपर्ने छ ।

कोभिड–१९ को चिह्न तथा लक्षण भएका व्यक्तिको एन्टिजेन परीक्षण गर्ने र नतिजा पोजेटिभ आएका व्यक्तिको पिसिआर परीक्षणको व्यवस्था गर्नुपर्ने छ । जारी प्रावधानको अवज्ञा गर्ने वा कार्यान्वयनमा बाधा पु¥याउने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही र सजाय हुने निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीको भनाइ छ । रासस

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.