Fast Nepal News

मध्यपहाडी राजमार्ग आयोजनाको काम असारभित्रै सम्पन्न हुने

banner single news

कास्की – बैशाख ३

कास्की, राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्कीस्थित हेमजा खण्डको निर्माण चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरा महानगरपालिका–२५ याम्दीबाट घट्टेखोलासम्मको १२ दशमलव दुई किलोमिटर सडकमा अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको छ । गत असोजभित्रमा आयोजना सम्पन्न गर्नुपर्नेमा बन्दाबन्दीलगायतका कारणले काममा ढिलाइ भए पनि आगामी असारभित्रमा बाँकी काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग आयोजनाका इञ्जिनीयर अनन्त बरालले जानकारी दिए । सो खण्डमा गत पुसदेखि सडक कालोपत्र गर्न शुरु गरिएकामा हालसम्म आधाभन्दा बढी सडक कालोपत्र गरेर सकिएको छ ।

साविकको पोखरा–बाग्लुङ राजमार्गको स्तरोन्नति गरी फराकिलो बनाएर यतिबेला कालोपत्र शुरु गरिएको छ । “चालु आर्थिक वर्षमा यस खण्डको बाँकी सबै काम सम्पन्न गर्ने लक्ष्यअनुसार अहिले कालोपत्रको कामले तीव्रता पाएको छ । अहिलेकै गतिमा काम गरेर बाँकी अवधिमा आयोजना सम्पन्न गर्न लागिपरेका छौँ”, इञ्जिनीयर बरालले भने । मध्यपहाडी आयोजनाअन्तर्गत घट्टेखोलाबाट पर्वत जिल्लाको सीमा नयाँपुलसम्मको काम सकिएको छ । याम्दीबाट घट्टेखोलासम्म शुरुमा एक तहको काम सकेर त्यसपछि अर्को लेनको काम गरिने आयोजनाले जनाएको छ ।

बरालले भने, “यात्रुलाई सहज होस् भनेर हामीले पहिलो चरणमा एकतर्फी काम सम्पन्न गर्न लागिपरेका छौँ । सुँइखेतमा दुईतर्फ सकिए पनि तीन किमी एकतर्फी काम बाँकी छ, त्यसलाई पूरा गर्दछौँ ।” मध्यपहाडीको कास्की याम्दीबाट नयाँपुलसम्मको ३७ किमी सडक तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी तीन भागमा विभाजन गरेर विसं २०७४ असारमा रु दुई अर्ब ९३ करोड ६६ लाख लागतमा ठेक्का सम्झौता गरिएको थियो । याम्दीबाट सुँइखेतफाँटसम्म स्वच्छन्द इलाइट जेभीले रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुँइखेतबाट घट्टेखोलासम्म शर्मा एण्ड कम्पनीले रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा कामको जिम्मा पाएका थिए ।

Inside Article Ads

त्यसैगरी घट्टेखोलाबाट नयाँपुलसम्मको २६ किमी दूरीमा श्रेष्ठ दिवा एपेक्स कन्स्ट्रक्शनसँग रु ९६ करोड ७४ लाख ११ हजार १०७ लागतमा मध्यपहाडी लोकमार्ग आयोजना पर्वतले ठेक्का सम्झौता गरेको थियो । राजमार्ग छ लेन (३ मिटर) चौडाइ तथा तीन मिटरको डिभाइडर (मेडियन) तथा दायाँ–बायाँ दुई÷दुई मिटरको नाला निर्माण गरिएको छ । पहाडी धरातालका कारण घट्टेखोलाबाट नयाँपुलसम्म भने दुई लेनको छ । आयोजनाको याम्दीपूर्वको क्षेत्रमा भने सडक एलाइनमेन्टको अझै टुङ्गो लाग्न सकेको छैन ।

लमजुङ जिल्लाको सिमाना रुदीदोभानबाट मादी गाउँपालिकाको भैँसेसम्मको १६ किमी खण्डमा चालु आवमा बोलपत्र आह्वान भएर ठेक्का सम्झौतापछि गत महिनादेखि काम शुरु भए पनि भैँसेदेखी याम्दी जोड्ने सडकको अझै टुङ्गो लाग्न नसकेको हो । रासस

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.