
काठमाडौं-नेपाल चेम्बर अफ कमर्सको ७० औँ साधारण सभाको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । होटल सोल्टीमा बिहीबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीले चेम्बरको ७० औँ साधारण सभा समुद्घाटन गरेका हुन ।
साधारण सभा समुद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, निजी क्षेत्र र नागरिक मिलेर सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्नुपर्ने बताए । आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्दै रोजगारी सिर्जनामार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्ने उनले बताए ।
उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले नेपाल चेम्बरसहितका निजी क्षेत्रका संस्थाहरुका माग तथा चासोलाई नीति निर्माणमा समेटिने प्रतिबद्धता व्यक्त गरे ।
सिक्का अनावरण, स्मारिका विमोचन
चेम्बरको ७० औँ वार्षिकोत्सवको अवसरमा तयार गरिएको चाँदीको सिक्का प्रधानमन्त्रीले उक्त अवसरमा अनावरण गरे । चेम्बर कार्यसमिति सदस्य एवं सिक्का निस्कासन समितिका संयोजक पर्शुराम दाहालले प्रधानमन्त्रीलाई उक्त सिक्का प्रस्तुत गरेका थिए ।
यस्तै प्रधानमन्त्री ओलीले चेम्बरको ७० औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित चेम्बर स्मारिका २०७७ विमोचन गरे । स्मारिकामा नेपालको उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित विभिन्न लेखरचना संग्रहित छन् । चेम्बर कार्यसमिति सदस्य एवं सूचना तथा सञ्चार समितिका सभापति सन्तोष पाण्डेले स्मारिका प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए ।
व्यवसायीहरु सम्मानित
चेम्बरले विभिन्न विधामा उल्लेखनीय कार्य गरेबापत् उद्यमी व्यवसायीहरुलाई सम्मानपत्र तथा कदर पत्र प्रदान गरेको छ । नेपाल चेम्बर अफ कमर्समा निरन्तर २५ वर्षदेखि आबद्ध कार्यसमिति सदस्य राष्ट्रभूषण चाकुबाजीलाई कदर पत्र प्रदान गरियो । यस्तै कोभिड १९ महामारीमा नेपाल चेम्बर अन्र्तगत गठित कोभिड राहत समितिका संयोजक चेम्बर उपाध्यक्ष दीपक कुमार मलहोत्रा सम्मानित भए ।
नेपाल भारत आर्थिक सम्बन्धमा सहजीकरण तथा सुधृढ गर्न योगदान गरेबापत् नेपाल भारत उद्योग वाणिज्य संघलाई कदर पत्र प्रदान गरिएको छ । संघका तर्फबाट अध्यक्ष सिर्जना राणाले सम्मान पत्र ग्रहण गरिन । नेपालको वैदेशिक व्यापारमा सहजीकरण गरेबापत् नेपाल फ्रेट फर्वाडर्स एसोसियसन सम्माति भयो । एसोसियसनका अध्यक्ष मनोज अधिकारीले सम्मान ग्रहण गरे ।
प्रसंशनीय कार्य सम्पादन गरेका पोखरा चेम्बर अफ कमर्स कास्की, चितवन चेम्बर अफ कमर्स, गोदावरी चेम्बर अफ कमर्सलाई पनि कदर पत्र प्रदान गरिएको छ । यस्तै जग्गा व्यवस्था गरी भवन निर्माण गरेका कपिलबस्तु चेम्बर अफ कमर्स, डोटी चेम्बर अफ कमर्स, हरिवन नगर चेम्बर अफ कमर्स र उद्योग व्यापार संगठन रुपन्देहीले कदर पत्र प्राप्त गरे ।
चेम्बरका ६ जना पूर्व अध्यक्षको सम्मानमा स्थापित मेमोरियल अवार्ड उद्योग वाणिज्य क्षेत्रमा योगदान प्रदान गरेका महानुभावहरुलाई वितरण गरिएको छ । बनवारी लाल मित्तल मेमोरियल अवार्ड पर्यटन तर्फ सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपानेले ग्रहण गरे ।
जनकदास श्रेष्ठ मेमोरियल अवार्ड महिला उद्यमीतर्फ इन्दिरा सापकोटाले प्राप्त गरिन। यस्तै राजबहादुर चिपालु मेमोरियल अवार्ड कृषि तर्फ गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले प्राप्त गरे । जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्ड भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले प्राप्त गरे । इन्द्रभक्त मेमोरियल अवार्ड उद्योगतर्फ विशाल ग्रुपका अध्यक्ष जगदीश अग्रवालले प्राप्त गरे । यस्तै ईश्वरलाल मेमोरियल अवार्ड पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले प्राप्त गरे ।
सम्मानित हुनेहरु मध्येबाट ईश्वरलाल मेमोरियल अवार्डबाट बिभुसित अग्रज उद्योगपति पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले राज्य संचालन प्रकृयामा सुधारको खाँचो औंल्याउदै राष्ट्र विकासका लागि औंद्योगिक वातावरण तयार पार्नुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ र वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सम्बोधन गरेका थिए । सो अवसरमा उनीहरुले नेपाल चेम्बर अफ कमर्श आधुनिक नेपालको इतिहासमा सात दशकसम्म निरन्तर सक्रिय र आर्थिक सामाजिक रुपान्तरणका लागि सरकारसँग सधैं हातमा हात मिलाएर अघि बढिरहेको निजी क्षेत्रको गौरवमय संस्था रहेको उल्लेख गर्दै निजी क्षेत्रको हकहितमा सरकारले ध्यान दिन आवश्यक रहेको बताएका थिए ।
