
सुमित्रा भुजेल
माघ २३, बेसीशहर । बेंसीशहर–चामे सडक अन्तर्गत पर्ने मस्र्याङदी गाउँपालिका ४ स्याँगेमा सडक ढलानको काम सुरु भएको छ । स्याँगे क्षेत्रमा ८० मिटर सडक ढलान (पीसीसी) को काम थालिएको डुम्रे–बेंसीशहर–चामे सडक योजना लमजुङले जनाएको छ ।
योजनाका इन्जिनियर सुरज महर्जनका अनुसार सडकको डन्डी नहालीकन (पीसीसी) गरिन थालिएको छ । माघ २० गतेबाट काम सुरु गरिने भनेपनि प्राविधिक समस्याका कारण २१ गतेबाट काम सुरु भएको हो । सडकको काम गर्न यसअघि माघ २० गतेदेखि २२ गतेसम्म समय मागिएकाले २२ गते बिहीबार रातिसम्म मात्र काम गरिएको छ ।
बिहीबारसम्म ६० प्रतिशत काम सकिएको महर्जनले बताउनुभयो । उक्त क्षेत्रमा पहिरो गइरहने र सवारी आउजाउमा समस्या भएपछि स्तरउन्नतिको काम गरिएको हो । पहिरो पुन आउन सक्ने भएकाले डन्डी नहालीकन ढलान गरिएको छ । सवारी साधन सञ्चालनमा सहज बनाउन ढलान गरिएको योजनाका प्रमुख अमितकुमार श्रेष्ठले बताउनुभयो ।
सडक अन्यन्त चौडा भएकाले ३ दिनका लागि सवारी सञ्चालन बन्द गरिएको थियो । माघ २० गतेदेखि २२ गतेसम्म ३ दिन सडकमा कुनै प्रकारको सवारी साधन पनि सञ्चालन गर्न दिइएको थिएन । सडक स्तरउन्नतिको काम भइरहँदा काम प्रभावित हुने भएकाले योजनाले प्रशासनसंग सवारी बन्दका लागि अनुरोध गरेअनुसार सवारी बन्द भएको थियो ।
सुरुवातको दिनमा काम गर्न नपाएका कारण बिहीबारसम्म पूरै काम हुन नसकेको योजनाले जनाएको छ । बाँकी रहेको कामका लागि जिल्ला प्रशासन कार्यालय लमजुङसंग समन्वय गरी केही दिनपछि गर्ने योजनाले जनाएको छ ।
