
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
कर्पोरेशनले प्राकृतिक विपदबाट प्रभावित क्षेत्रका नागरिकलाई तत्काल राहत पुर्याउने उद्देश्यले संस्थागत रूपमा ५० लाख रुपैयाँ र कर्मचारीहरूको तलबबाट कट्टा गरी संकलन गरिएको १० लाख रुपैयाँ गरी कुल ६० लाख रुपैयाँ राहत तथा मानवीय सहयोगस्वरूप उपलब्ध गराएको जनाएको छ।
हालैको बाढीपहिरोका कारण विभिन्न क्षेत्रमा व्यापक धनजनको क्षति भएको तथा नेपाली नागरिकसँगै विदेशी पर्यटकहरूले समेत ज्यान गुमाएको घटनाप्रति कर्पोरेशनले गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।
कर्पोरेशनका अनुसार प्राकृतिक विपदबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल सहयोग आवश्यक रहेको अवस्थालाई मध्यनजर गर्दै उक्त रकम उपलब्ध गराइएको हो।
यसका साथै साल्ट ट्रेडिङ कर्पोरेशनले विपद् प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तुहरूको आपूर्तिलाई निरन्तरता दिइरहेको जनाएको छ। विपद्को कठिन परिस्थितिमा आवश्यक सामग्रीको अभाव हुन नदिन कर्पोरेशनले आफ्नो आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउँदै प्रभावित क्षेत्रसम्म अत्यावश्यक वस्तु पुर्याउने कार्य गरिरहेको बताइएको छ।
कर्पोरेशनले प्राकृतिक विपद्को यस कठिन घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै राज्य, निजी क्षेत्र तथा आम नागरिकबीचको सहकार्यबाट प्रभावित नागरिकहरूको राहत र पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनको तर्फबाट उपलब्ध गराइएको सहयोग सामाजिक उत्तरदायित्व र मानवीय कर्तव्यको भावनाअनुसार भएको उल्लेख गर्नुभयो ।
