
काठमाडौं, साउन २८ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले विश्वविद्यालयहरूले परम्परागत शिक्षा प्रणालीभन्दा बाहिर निस्किएर उद्यमशीलता, नवप्रवर्तन र व्यावहारिक सीपमा केन्द्रित हुनुपर्ने बताएका छन्। उनले विश्वविद्यालयको उद्देश्य केवल रोजगारी खोज्ने जनशक्ति उत्पादन गर्नु नभई रोजगारी सिर्जना गर्ने उद्यमी र नेतृत्वकर्ता तयार गर्नु हुनुपर्नेमा जोड दिए।
नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच उद्यमशीलता विकास, नवप्रवर्तन प्रवर्द्धन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यसहित पाँच वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन्।
अध्यक्ष अग्रवालले भने, “विश्वविद्यालयहरूको मुख्य उद्देश्य केवल रोजगारी खोज्ने जनशक्ति उत्पादन गर्नु होइन, रोजगारी सिर्जना गर्ने उद्यमी र नेतृत्वकर्ता तयार गर्नु हो। आजको विश्वमा ज्ञान मात्र पर्याप्त छैन, त्यसलाई व्यवसाय, उद्योग र नवप्रवर्तनसँग जोड्न सक्ने क्षमता आवश्यक छ।”
उनले उद्योग र शिक्षाबीचको दूरी घटाउन यस्ता सहकार्य महत्वपूर्ण हुने उल्लेख गर्दै विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति बजारको वास्तविक आवश्यकताअनुसार दक्ष हुनुपर्ने बताए। शिक्षा र उद्योगबीचको सहकार्यले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव, सीप र व्यवसायिक सोच विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले विश्वविद्यालयले शिक्षा र उद्योगबीचको सम्बन्धलाई व्यवहारिक रूपमा जोड्ने अवधारणाअनुसार अघि बढिरहेको बताए। नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यले विद्यार्थीलाई उद्योगसँग प्रत्यक्ष जोड्ने, अनुसन्धानलाई व्यवहारिक बनाउने तथा स्टार्टअप र नवप्रवर्तनका नयाँ अवसर सिर्जना गर्ने विश्वास उनले व्यक्त गरे।
समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार दुवै संस्थाले शैक्षिक क्षेत्र, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माताबीच समन्वयात्मक वातावरण निर्माण गर्दै उद्यमशीलता, व्यावसायिक विकास, नवप्रवर्तन क्षमता अभिवृद्धि तथा संस्थागत उत्कृष्टताका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्नेछन्।
सम्झौताअन्तर्गत विशेष तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन, क्षमता अभिवृद्धि, स्टार्टअप तथा नवप्रवर्तन प्रवर्द्धन, लगानी प्रोत्साहन, रणनीतिक नेटवर्किङ, अनुसन्धान तथा नीतिगत अध्ययन, ज्ञान आदानप्रदान तथा भविष्यकेन्द्रित शैक्षिक कार्यक्रम विकासका क्षेत्रमा संयुक्त रूपमा काम गरिनेछ।
नेपाल चेम्बर अफ कमर्सले आफ्ना सदस्य तथा सरोकारवालाको तालिम आवश्यकता पहिचान गर्ने, संयुक्त कार्यक्रमहरूमा सहभागिता बढाउने तथा व्यवसायिक वातावरणसँग सम्बन्धित कार्यक्रम सञ्चालनमा सहकार्य गर्नेछ। साथै, बागमती विश्वविद्यालयका विद्यार्थीका लागि इन्टर्नशिप तथा रोजगारी सहयोग केन्द्र स्थापना गर्न सहयोग गर्ने, अनुसन्धान कोष तथा छात्रवृत्ति सहयोग कार्यक्रम स्थापना गर्ने र उद्योग जगत्का अनुभवी व्यवसायिक नेतृत्वलाई अतिथि वक्ताका रूपमा विश्वविद्यालयसँग जोड्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, बागमती विश्वविद्यालयले शैक्षिक विशेषज्ञता उपलब्ध गराउने, तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्टार्टअप तथा नवप्रवर्तनका लागि परामर्श र मार्गदर्शन प्रदान गर्ने तथा उद्योग–शिक्षा सहकार्यमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्नेछ। विश्वविद्यालयले सेमिनार, नीति संवाद तथा सम्मेलन आयोजना गरी ज्ञान र अनुभव आदानप्रदानका लागि थप अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ।
समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म लागू हुनेछ। दुवै पक्षको सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ।
