
तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गरेका छन्। आज आयोजित सपथ ग्रहण कार्यक्रममा सांसद न्यौपानेले आदिकवि भानुभक्त आचार्यको पहिचानसँग जोडिएको परम्परागत बिर्खे टोपी लगाएर सपथ ग्रहण गरेका हुन्। तनहुँको सेपा बगैचा, आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा जन्मिएका न्यौपाने ऊर्जा तथा जलस्रोत क्षेत्रका विज्ञका साथै शिक्षा र सुरुङ निर्माणका विशेषज्ञका रूपमा परिचित छन्। लामो समय प्राविधिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याएका उनी हाल सक्रिय राजनीतिमार्फत विकास निर्माणमा योगदान गर्ने लक्ष्यसहित संसदमा पुगेका हुन्। सपथपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसद न्यौपानेले नेपाली संस्कार, संस्कृति र अग्रज व्यक्तित्वप्रतिको सम्मान व्यक्त गर्न आफूले भानुभक्तको बिर्खे टोपी लगाएको बताए। “हामीले आधुनिक विकाससँगै आफ्ना मौलिक परम्परा र संस्कृतिलाई पनि सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन चाहेको हुँ,” उनले भने। न्यौपानेको यो सांस्कृतिक पहिचान झल्काउने शैलीलाई उपस्थित सांसद तथा सर्वसाधारणले सकारात्मक रूपमा लिएको बताइएको छ।
