
सुमित्रा भुजेल
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–२ भाचे–भदौरे क्षेत्रमा सडक विस्तारको क्रममा बुधबार बिहान पहरा खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन्।
खुदी–घनपोखरा–नाँयु सडकखण्डअन्तर्गत बिहान करिब ९ बजे ढुंगा फुटाउने क्रममा अचानक माथिबाट पहरा खसेको स्थानीयले बताएका छन्। पहरा खस्दा काममा संलग्न एक्स्काभेटर पुरिएको र चालक त्यसैमा च्यापिएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार सडक फराकिलो बनाउने क्रममा पहिरो झर्दा चालक च्यापिएका हुन्। करिब ३०–३२ वर्षका ती चालकको पहिचान हालसम्म खुल्न सकेको छैन।
घटनापछि प्रहरी र स्थानीयबासीले उद्धार कार्य सुरु गरेका छन्। घटनास्थल दुर्गम रहेकाले उद्धारमा कठिनाइ भइरहेको बताइएको छ। चालकको अवस्था बारे आधिकारिक पुष्टि भइसकेको छैन।
प्रहरीले घटनाको थप विवरण संकलन गरिरहेको जनाएको छ।
