
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौं जिल्ला समितिले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
पार्टीको केन्द्रीय परिपत्रअनुसार बसेको जिल्ला समितिको बैठकले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो।
जिल्ला समितिको निर्णयअनुसार काठमाडौं निर्वाचन क्षेत्र नं. ८/९ बाट पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुमन सायमीलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। त्यसैगरी, काठमाडौं निर्वाचन क्षेत्र नं. ७ बाट पार्टीका केन्द्रीय प्रवक्ता रविन्द्र कुमार श्रेष्ठको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि अघि सारिएको छ।
पार्टीका अनुसार सिफारिस गरिएका दुवै नेताहरू संगठन निर्माण, जनआन्दोलन तथा राजनीतिक संघर्षमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी र प्रतिबद्ध व्यक्तित्व हुन्।
केन्द्रीय वरिष्ठ उपाध्यक्ष सायमी स्थानीय समस्या, जनसरोकार र नागरिकका मुद्दामा स्पष्ट र प्रखर आवाज उठाउँदै आएका नेता हुन्। त्यस्तै, केन्द्रीय प्रवक्ताको भूमिकामा रहेका श्रेष्ठ राजनीतिक गतिविधि, वैचारिक बहस तथा पार्टीको नीति–सिद्धान्तलाई जनस्तरसम्म पुर्याउन सक्रिय रहँदै आएका छन्।
पार्टीको नीति, सिद्धान्त र जनभावनालाई कदर गर्दै योग्य र सक्षम उम्मेदवारका रूपमा उनीहरूलाई अघि सारिएको जिल्ला समितिले जनाएको छ।
काठमाडौं जिल्ला समितिले सिफारिस गरिएका नामहरूमाथि आवश्यक निर्णय लिन र चुनावी प्रक्रिया अगाडि बढाउन पार्टीको केन्द्रीय कार्यालयलाई औपचारिक आग्रह गरेको छ। केन्द्रीय समितिबाट अनुमोदन भएपछि उम्मेदवारीले औपचारिकता पाउने पार्टीले जनाएको छ।

