
काठमाडौँ, २०७८ कार्तिक २८
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको रामारोशन गाउँपालिका–६ स्थित नेपाल टेलिकमको 4G LTE टावरको क्षमता अभिवृद्धि (Upgrade) गरिएको छ।
स्थानीय बासिन्दाहरूले सञ्चार सेवाको गुणस्तर कमजोर रहेको गुनासो गर्दै आएका बेला सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलको निर्देशनपछि नेपाल टेलिकमले तीव्र रूपमा सेवा सुधारको अभियान थालेको हो। सोही क्रममा रामारोशनको टावरमा १८०० MHz प्रविधिको LTE प्रणाली थप गरी क्षमता विस्तार गरिएको नेपाल टेलिकमले जनाएको छ।
अब उक्त टावरबाट रामारोशन गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५, ७, ८ र ९ का स्थानीय बासिन्दाले उच्च गतिको इन्टरनेट सेवा सहज रूपमा प्रयोग गर्न सक्ने भएका छन्। साथै, प्रसिद्ध रामारोशन ताल र आसपासका पर्यटकीय क्षेत्रमा पनि उच्च गतिको 4G नेटवर्क उपलब्ध भएको छ।
फोरजी सेवा संचालनमा आएसँगै स्थानीय बासिन्दाहरूले आपतकालीन सम्पर्क, अनलाइन कारोबार, अध्ययन–अध्यापन र पारिवारिक सन्देश आदानप्रदानमा सहजता पाएको बताएका छन्।
सञ्चार मन्त्री खरेलले सुदूरपश्चिमका दुर्गम क्षेत्रमा सञ्चार पहुँच अभिवृद्धिका लागि तत्काल सुधारका निर्देशन दिएपछि नेपाल टेलिकम आक्रामक रूपमा टावर अपग्रेड अभियानमा लागेको हो।
अछामसँगै डडेल्धुराको पालेथर र बझाङको देऊ लेक लगायतका दुर्गम स्थानहरूमा रहेका टावरहरू पनि हालसालै अपग्रेड हुँदै छन्। नेपाल टेलिकमका प्रवक्ता अनुसार देशभरका ग्रामीण तथा हिमाली क्षेत्रहरूमा चरणबद्ध रूपमा 4G LTE क्षमता विस्तार र गुणस्तर सुधार कार्य जारी छ।
नेपाल टेलिकमले आगामी महिनाभित्र सुदूरपश्चिम प्रदेशका हरेक गाउँपालिकामा कम्तिमा एक उच्च क्षमता सम्पन्न 4G टावर सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ।
