
मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्ति र सपथ ग्रहण प्रक्रियाप्रति राजनीतिक दलहरूले तीव्र आपत्ति जनाएका छन्।
प्रदेश प्रमुखले संविधान र लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गर्दै एमालेका प्रदेशसभा सदस्य सरोज यादवलाई मुख्यमन्त्रीको रूपमा सपथ गराएको विषयमा असन्तोष व्यक्त गरिएको हो।
प्रेस विज्ञप्तिमार्फत विपक्षी दलहरूले यस कदमलाई “संविधान विपरीत, संघीयतालाई कमजोर पार्ने र लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात गर्ने कार्य” भनेर व्याख्या गरेका छन्। विज्ञप्तिमा भनिएको छ —
“प्रदेश प्रमुखले संविधानको धारा १६८(२) को सम्भावना रहँदा रहँदै १६८(३) को प्रयोग गरी नियुक्ति गरेका छन्, जुन प्रक्रियागत त्रुटि हो। साथै, औपचारिक मर्यादा तोड्दै कटेजमा गएर सपथ गराउनु गैरजिम्मेवार कदम हो।”
विपक्षी दलहरूले प्रदेश प्रमुखको तत्काल बर्खास्तीको माग गर्दै संघीय सरकारलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्।
साथै, संवैधानिक र संसदीय परम्पराअनुसार समस्याको समाधान खोज्न सबै राजनीतिक पक्षलाई अपिल गरिएको छ।
प्रेस विज्ञप्तिमा एमाले पार्टीमाथि “संघीयता कमजोर पार्ने र प्रदेशमा अस्थिरता सिर्जना गर्ने ग्रान्ड डिजाइन बनाएको” आरोप लगाइएको छ। विज्ञप्तिले सबै प्रदेशवासी नागरिकलाई संघीय लोकतान्त्रिक गणतन्त्र र लोकतान्त्रिक मूल्यको पक्षमा दृढ रहन आग्रह गरेको छ।

