
काठमाडौं । नेपाल सम्बत्को ऐतिहासिक उद्गमस्थल शिला मुग: (हालको सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र रहेको स्थल) संरक्षणका लागि नेवा: राष्ट्रिय परिषदले औपचारिक पहल थालेको छ।
नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाले करिब ११४६ वर्षअघि सम्पूर्ण नेपामीहरूको ऋण मोचन गर्दै सुरु गर्नुभएको नेपाल सम्बत्को ऐतिहासिक मूलस्थल शिला मुग: संरक्षणका लागि नेवा: राष्ट्रिय परिषदका संयोजक सुमन सायमी र परिषदका सांस्कृतिक विभाग प्रमुख यादव लाल कायस्थलगायतका अभियानकर्मीहरूले विमानस्थल प्रमुख हंसराज पाण्डेलाई लिखित निवेदन बुझाएका छन्।
उक्त निवेदनमा शिला मुग: स्थल नेपालको सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक सम्पदाका रूपमा महत्वपूर्ण भएको उल्लेख गर्दै त्यसको संरक्षण र पहिचान कायम राख्न आग्रह गरिएको छ।
निवेदन ग्रहण गर्दै विमानस्थल प्रमुख पाण्डेले विषयप्रति गहिरो चासो व्यक्त गर्दै नेपाल सम्बत् र शंखधर साख्वाको योगदान नेपालको सांस्कृतिक इतिहाससँग गहिरो रूपमा जोडिएको बताए। उनले सम्पदा संरक्षणका लागि सक्दो सहयोग गर्ने र सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाए।
नेवा: राष्ट्रिय परिषदका प्रतिनिधिहरूले यो पहललाई नेपाल सम्बत्को मूल उद्गमस्थलको पुनःपहिचान र संरक्षणतर्फको ऐतिहासिक कदमका रूपमा लिएका छन्।
