Fast Nepal News

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुदैँ

banner single news

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता हुने भएका छन् ।
यही भदौ १४ गते जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन गएका प्रधानमन्त्री ओली बुधबार स्वदेश फिर्ता हुने भएका हुन् ।
प्रधानमन्त्री ओली २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता समेत गरेका छन् ।
नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ । सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एक हो । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।
अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वका केही नेताहरूसँग भेटवार्ता गरेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेट गरेका छन् ।
चीन भ्रमणमा प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी छन् ।

Inside Article Ads
Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.