Fast Nepal News

बागमती प्रदेश सरकारले गर्यो ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान

banner single news

हेटौँडा । बागमती प्रदेश सरकारले ८ विधाका १३ खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई सम्मान गरेको छ ।
प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रमको आयोजना गर्दै आइतबार हेटौँडा–४, हुप्रचौरमा खेलाडी, प्रशिक्षक तथा पत्रकारलाई नगदसहित सम्मान गरेको हो ।
बागमती प्रदेश जिल्लामा जन्मेर खेलकुद क्षेत्रका सक्रिय जिवन बिताएर देशको नाम उच्च बनाएको भन्दै मन्त्रालयले पुरस्कृत गरेको हो ।
उत्कृष्ट वर्ष खेलाडी अवार्डका रुपमा महिलातर्फ कराँतेकी एरिक गुरुङ र पुरुषतर्फ खोखोका राजन बललाई सम्मान गरेको छ । उनीहरुलाई नगद १÷१ लाख रुपैयाँसहित अवार्ड प्रदान गरिएको थियो ।
कराँतेकी खेलाडी एरिकाले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन् भने १९औं एसियाली खेलकुदमा २५ वर्षपछि देशका लागि रजत पदक जितेकी थिइन् ।
उनले पहिलो पटक नेपाललाई करातेमा एसियन गेम्सबाट रजत पदक दिलाएकी थिइन् । उनले २ वर्षको खेल अवधिमा ८ अन्तर्राष्ट्रिय प्रतियोगिताबाट ५ स्वर्ण र ४ रजत पदक जितेकी छिन् ।
खोखो खेलका एक सदस्यका रुपमा रहेका राजन उत्कृष्ट वर्ष खेलाडीका रुपमा पुरस्कृत भएका छन् । खोखो विश्वकपमा दोस्रो स्थान हासिल गर्दा राजन टोलीका महत्वपूर्ण सदस्यका रुपमा रहेका थिए ।
उनले देशका लागि १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक, सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुदमा पनि पदक प्राप्त गरेका थिए ।
एथ्लेटिक्सका बैकुण्ठ मानन्धर र जित बहादुर केसीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड मार्फत् सम्मान गरिएको छ । उनीहरुलाई नगद १÷१ लाख रुपैयाँसहित अवार्ड प्रदान गरिएको छ । बैकुण्ठले दक्षिण एसियाली खेलकुद (साग) को पहिलो, दोस्रो र तेस्रो संस्करणमा लगातार म्याराथन स्वर्ण जितेका छन् ।
साग म्याराथनमा सन् १९८७ मा उनले बनाएको २ घन्टा १५ मिनेट ३ सेकेन्डको कीर्तिमानी रेकर्ड ३८ वर्षसम्म कायमै रहेको छ । सन् १९७६ देखि १९८८ सम्म लगातार ४ ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एक मात्रा पात्र हुन् बैकुण्ठ ।
जितबहादुर नेपाली खेलकुद क्षेत्रका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी हुन् । सन् १९७३ मा फिलिपिन्समा सम्पन्न एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा उनले म्याराथन दौडमा कांस्य पदक जितेका थिए । उनले देशका लागि खाली खुट्टा दौडिएका थिए ।
समारोहमा ‘बागमती शान’ अवार्डबाट तेक्वान्दोकी संगिना वैद्यलाई सम्मान गरिएको थियो । वाइल्ड कार्डको भरमा ओलम्पिकमा उपस्थिति जनाउँदै आएको नेपालका लागि संगिना ट्रनिङ्ग प्वइन्ट बनेकी थिइन् । संगिना सन् २००४ को एथेन्स ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी हुन् ।
हङकङमा आयोजित एसियाली च्याम्पियनसिपमा उनले कास्य पदक जितेकी थिइन् । संगिनाले दक्षिण एसियाली खेलकुद (साग) मा आठौं र नवौं संस्करणमा स्वर्ण र दशौंमा कास्य पदक जितेकी थिइन् ।
त्यस्तै समारोहमा उत्कृष्ट प्रशिक्षक अवार्डबाट पलेशा गोवद्र्धनका प्रशिक्षक कवि राज नेगी, उत्कृष्ट पत्रकार अवार्डबाट वरिष्ट पत्रकार श्याम चित्रकार, लोकप्रिय खेलाडीका रुपमा फुटबलका आयुष घलान, भलिबलकी सलिना श्रेष्ठ, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठलाई अवार्डसहित सम्मान गरिएको थियो ।
उत्कृष्ट पारा तेक्वान्दो खेलाडी अवार्डबाट पलेशा गोवद्र्धन, युवा खेलाडी अवार्डबाट गल्फका सद्भाव आचार्य र उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष अवार्डबाट ललितपुरमा विनोद महर्जन सम्मानित भएका थिए ।
उनीहरुलाई जनही ५० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामासहित मन्त्रीहरु, बागमती प्रदेश सभा सदस्यहरु, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाको उपस्थिति रहेको थियो । कार्यक्रममा कलाकारहरुले नृत्य, गायन तथा हास्यव्यंग्य प्रस्तुत गरेका थिए ।

Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.