
चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुनका लागि बुधवार तथा बिहीवार छ जना चलचित्रकर्मीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अन्तर्वार्ता दिने भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका छ जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो ।
मन्त्रालयले बुधवार निर्देशक दिनेश डिसी दिनेशराज दाहाल, अभिनेत्री करिश्मा मानन्धर तथा निर्माता अर्जुक कुमार डंगोललाई अन्तर्वार्तामा बोलाएको छ भने भोलि बिहीवार निर्देशक दीपा पाण्डे बस्नेत, वोर्डमै आवद्ध प्रकाश भट्टराई तथा संस्कृतिकर्मी राजेश थापालाई अन्तर्वार्ताका लागि बोलाएको छ ।
चलचित्र विकास बोर्डको अध्यक्ष पद गत साउन ९ गतेदेखि रिक्त छ । अभिनेता तथा निर्माता भुवन केसीको अध्यक्षको रुपमा दुई वर्षे कार्यकाल पूरा भएसंगै बोर्डको अध्यक्ष पद रिक्त भएको हो ।
आज र भोलि हुने अन्तर्वार्तापछि मन्त्रालयले तीन जना उम्मेदवारको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । उनीहरुमध्ये एक जना अध्यक्षको रुपमा दुई वर्षे कार्यकालका लागि नियुक्त हुनेछन् ।
