
चलचित्र ‘ह्रस्व दीर्घ’ को रिलिज मिति स्थगित भएको छ।
अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले फेसबुकमार्फत रिलिज मिति सारिएको जानकारी दिएकी हुन्।
चलचित्रको मुम्बईमा सम्पादन कार्य चलिरहेको र प्राविधिकरुपमा थप बनाउनपर्ने भएकाले रिलिज मिति स्थगित गरिएको उल्लेख गरेकी छिन्। यसअघि यो चलचित्र आगामी असोज ३ गते संविधान दिवसको अवसरमा रिलिज हुने बताइएको थियो।
‘निर्धारित प्रदर्शन मिति असोज ३ मा आउने तयारीका बीच हाल मुम्बईमा पोस्ट प्रोडक्सनमा रहेको चलचित्रको प्राविधिक टिमबाट चलचित्रलाई थप उत्कृष्ट बनाउन विशेषतस् प्राविधिक कामहरू सम्पन्न गर्न थप समय लाग्ने भनि केहि समय माग भइ आएकोले उक्त मितिमा प्रदर्शनमा ल्याउन असमर्थ हुने निर्णयमा पुगेका छौं,’उनले लेखेकी छन्।
वितरण कम्पनिहरूसँग निरन्तर छलफल र संवाद अघि बढिरहेकोले यथाशीघ्र नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने बताइएको छ।
चन्द्र पन्तको डेब्यु निर्देशकिय चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। चलचित्रमा नीता ढुंगाना, ब्रह्मानन्दम, अली, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।
हस्वदीर्घको प्रदर्शन रोकिएपछि उक्त मितिमा सुशिल श्रेष्ठको चलचित्र ‘आउट ल’ तथा धीरज मगर र उपासनासिंह ठकुरी अभिनित ‘खुस्मा’ प्रदर्शन हुँदैछन्।
