
चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको १५ दिनको समयमा ६ जनाले आवेदन दिएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार अध्यक्षका लागि चलचित्र निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, संस्कृतिकर्मी राजेशकुमार थापा, निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डंगोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेतले आवेदन दिएका हुन्।
सञ्चार मन्त्रालयले निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएसँगै साउन १६ गते १५ दिनको समय दिएर आवेदन मागेको थियो । अब, यी ६ जना कलाकर्मीसँग सञ्चार मन्त्रालयको विज्ञ टोलीले अन्तरवार्ता गर्नेछ । यसपछि, ३ जना कलाकर्मीको नाम मन्त्रीपरिषद्मा सिफारिश गरिनेछ । मन्त्रिपरिषद्को निर्णय अनुसार एक जना चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुनेछन् ।
रिक्त अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेपनि मुख्य प्रतिस्पर्धा भने डीसी र मानन्धरबीच हुने आंकलन गरिएको हो ।
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले नै सञ्चार मन्त्रालयको नेतृत्व गरिरहेको हुँदा एमाले निकटले नै नियुक्ति पाउने पक्का रहेको छ । त्यसको त आवेदन दिएका सबैएमाले निकट कलाकार हुन् । दिनेश लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय व्यक्ति हुन् । उनीएमाले निकट चलचित्र कर्मीहरुको संगठनका अध्यक्षसमेत हुन् । मानन्धर पनि केही वर्षअघि एमाले प्रवेश गरेकी नेतृ हुन् । उता चलचित्र वितरक अर्जुनकुमार डंगोल पनि एमाले निकट मानिन्छन् । उनी यसअघि एमालेको कोटाबाट विकास वोर्डमा सदस्य रहिसकेका छन् । थापा पनि एमाले निकटनै कलाकार हुन् ।
सबै आकांक्षी एमाले निकट भएपछि डीसी र मानन्धरलाई मुख्य प्रतिस्पर्धी हेरिएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ डीसीप्रति सकारात्मक बन्दा एमालेका महिला नेतृमार्फत करिश्माले प्रधानमन्त्री केपी ओलीसमक्ष लबिइङ बढाईरहेकी छन् ।
