
१५ असार,काठमाडौँ-वसन्तपुरस्थित हनुमानढोका परिसरमा नेपाली सेना, प्रहरी, हनुमानढोका हेरचाह कार्यालय, काठमाडौं महानगरलगायत सबै निकायका सवारीसाधनलाई निषेध गरिएको छ।
सो स्थानमा यसअघि सर्वसाधारणका सवारीसाधन निषेध गरे पनि सरकारी निकाय र पहुँचका आधारमा सवारीसाधन छिर्ने गरेका थिए।
विश्व सम्पदा सूचीमा रहेको मुख्य सम्पदा रहेको इलाकामा सवारीसाधन प्रवेश दिनु उचित नभएको भन्दै कडाइ गरिएको महानगरका सम्पदा सल्लाहकार यादवलाल कायस्थले जानकारी दिए। उनका अनुसार यो नियम शुक्रबारदेखि नै लागू गरिनेछ।
‘सर्वसाधारणका सवारीसाधन यस क्षेत्रमा पहिलेदेखि नै निषेध गरिएको थियो, तर केही व्यक्ति र कर्मचारीहरूले पहुँचका आधारमा सवारीसाधन प्रवेश गराउँदै आएका छन्,’ उनले भने, ‘अब हामी कडाइ गर्छौं।’ उनले भिभिआइपीलाई पनि सम्पदा क्षेत्रमा सवारी निषेध गर्नुपर्ने बताए।
समाचार नयाँ पत्रिकामा प्रकाशित छ।
