Fast Nepal News

काठमाडौंमा रोकियो ‘आदिपुरुष’

काठमाडौंभित्र भारतीय फिल्म प्रदर्शनमा महानगरको रोक दर्शकको सुरक्षाका निम्ति प्रदर्शन रोक्यौं, अब सरकारले जे भन्छ त्यही गर्छौं : चलचित्र संघ ‘आदिपुरुष’ यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिएको छ' – बालेन्द्र शाह, प्रमुख, काठमाडौं महानगरपालिका

banner single news

४ असार,काठमाडौँ —  एक संवादका कारण विवादमा आएको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ नेपालमा पनि सोमबारदेखि काठमाडौं महानगरपालिकाभित्र प्रदर्शन नहुने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फिल्मको विवादित संवाद ‘जानकी भारतकी छोरी हुन्’ लाई फिल्मको मूल भागबाटै नहटाएसम्म काठमाडौंमा प्रदर्शन गर्न नदिने निर्णय गरेपछि फिल्म प्रदर्शक (हलवाला) ले पनि आजबाट फिल्मको प्रदर्शन स्थगित गरेका हुन् ।

आइतबार अपराह्न महानगर प्रमुख शाहले सोमबारदेखि महानगर क्षेत्रमा हिन्दी चलचित्र प्रदर्शनमा निषेध गरिएको बताउँदै स्टाटस लेखेका छन् । यसअघि उनले विवादास्पद उक्त संवाद नेपालमा मात्र नभई भारतमा पनि सच्याउनका लागि आइतबारसम्म ३ दिनका लागि अल्टिमेटम दिएका थिए । महानगर प्रमुख शाहले उक्त फिल्मको गलत संवादका कारण नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको दाबी गरेका छन् ।

महानगरको उक्त निर्णयपछि हलहरूको छाता संगठन चलचित्र संघका उपाध्यक्ष भाष्कर ढुंगानाले दर्शकको सुरक्षाका निम्ति सोमबारदेखि ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने निर्णयमा पुगेको जानकारी दिए । महानगर प्रहरीले हलसम्मै पुगेर फिल्म प्रदर्शनमा रोक लगाउने कोसिस गरेपछि यो निर्णयमा पुगेको ढुंगानाले बताए । ‘आजै (आइतबार) सिभिल मलको हलमा नगर प्रहरी पुगिसक्नुभयो । हामी सोमबारबाट फिल्म देखाउँदैनौं । जनताको सुरक्षालाई ध्यानमा राखेर संयमित भई फिल्मको प्रदर्शन रद्द गर्छौं,’ ढुंगानाले भने ।

यसअघि विवादित संवाद फिल्मबाट नहटाएसम्म नेपालमा फिल्म प्रदर्शन गर्न नदिने सेन्सर बोर्डले अडान लिएपछि ‘आदिपुरुष’ को काठमाडौं प्रदर्शन विवादमा तानिएको थियो । गत बिहीबार फिल्मका नेपाल वितरकले उक्त संवाद हटाउन लगाई फिल्मको जाँचपास अनुमतिपत्र लिएका थिए । महानगर प्रमुख शाहले नेपालमा मात्र नभई भारतमा समेत उक्त संवाद नसच्याए काठमाडौं महानगरमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भन्दै गत शुक्रबार फेसबुकमा लेखेपछि ‘आदिपुरुष’ को विवाद चर्किएको थियो । त्यसैले सुरक्षाको कारण देखाउँदै चलचित्र संघले शुक्रबारको बिहानीको शो रद्द गरेको थियो । फिल्मबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको बताउँदै महानगरको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै महानगर प्रमुख शाहले शुक्रबार सूचना तथा सञ्चार, प्रविधि मन्त्रालयलाई पत्र पठाएका थिए । उक्त पत्रमा भनिएको छ, ‘काठमाडौं महानगर क्षेत्रभित्र राष्ट्रहितविपरीतको उक्त फिल्मको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले कूटनीतिक पहल गरिनुपर्छ ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै आपत्तिजनक संवाद हटाएर सेन्सर पास भइसकेको फिल्मलाई लिएर सञ्चारमाध्यम र सरोकारवाला निकायबाट जनाइएको आपत्तिका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘उक्त फिल्मको विवादित संवाद हटाउन लगाई सोपश्चात् मात्र सेन्सर पासको प्रमाणपत्र दिई सार्वजनिक प्रदर्शन गर्न अनुमति प्रदान गरिएको हो,’ मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सोमबारबाट प्रशासनिक बल प्रयोग गरेर बन्द गराउन सक्ने जवाफ महानगर प्रहरीबाट आएपछि हल सञ्चालकहरू स्वस्फूर्त फिल्म नदेखाउने निर्णयमा पुगेका हुन् ।

सरकारले जे भन्छ, त्यही निर्णयमा आफूहरू पुग्ने मल्टिप्लेक्स च्यानल क्यूएफएक्ससँग समेत आबद्ध उपाध्यक्ष ढुंगानाको भनाइ छ । उनले भने, ‘अब हामी सरकारले जे भन्छ, त्यही गर्छौं ।’

‘आदिपुरुष’ का नेपाल वितरक मनोज राठी भारतमा प्रदर्शन हुने फिल्मबाट पनि उक्त संवाद हटाउने तयारी रहेको बताउँछन् । ‘यसरी फिल्म नै रोक्ने कुरा महानगरको अधिकार क्षेत्रमा पर्दैनजस्तो लाग्छ । सेन्सर पास भइसकेपछि सञ्चार मन्त्रालयले पनि प्रदर्शन रोक्न पाउँदैन,’ राठीले भने, ‘भारतले पनि त्यो संवाद फिल्मबाट हटाइसकेको छ । त्यसको चिठी हामी कुर्दै छौं ।’

निर्देशक मनोज पण्डित महानगर प्रमुख शाहको यो कदमको प्रशंसा गर्छन् । ‘बालेनले जे निर्णय गर्नुभयो, त्यसको सापेक्षता छ । सबै फिल्मलाई बन्द गर्ने भन्ने हिसाबले आजबाट नेपालमा हिन्दी फिल्म नै चल्दैन भन्ने दृष्टिकोण राख्ने होइन । तर, तिमीहरूले नेपाललाई गलत तरिकाले देखाउन खोज्यौ भने नेपाल त्यसको विरुद्धमा खडा हुन सक्छ है भन्ने पोलिटिकल स्टेटमेन्ट हो यो,’ पण्डित भन्छन्, ‘यो संवाद, संवाद मात्रै होइन, त्यसमा भारतले नेपाललाई कसरी लिन्छ भन्ने दृष्टिकोण छ । खासमा मेयरको यो कदम तत्कालका लागि तीतो सुनिएला । तर, यसले कालान्तरसम्म असर देखाउँछ ।’

Inside Article Ads

महानगर प्रमुख शाहले आफ्नो कदमलाई आफूले निर्वाह गरेको संवैधानिक दायित्वका रूपमा समेत व्याख्या गरेका छन् । नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको बताउँदै उक्त फिल्म यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिएको शाहको भनाइ छ । उनले भनेका छन्, ‘काठमाडौं महानगर क्षेत्रभित्र उक्त राष्ट्रहितविपरीतको चलचित्र प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्नेछ ।’

महानगर प्रमुखका स्वकीय सचिव भूपदेव शाहले ‘आदिपुरुष’ मा समावेश गरिएको संवादले सांस्कृतिक आक्रमण भएको दाबी गरे । ‘यो चलचित्रको संवाद नहटाउँदा हाम्रो समाज नै खलबलाउँछ । हामीले सरकारलाई यस विषयबारे पहिल्यै ध्यानाकर्षण गराएका थियौं,’ भूपदेवले भने, ‘सम्भावित हिंसा नहोस् भनेर हामीले यो कदम चालेका हौं ।’

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले हिन्दी फिल्म सोमबारदेखि सञ्चालन गर्न नदिने निर्णय अनुमोदन भइसकेको बताए । सरकारलाई ध्यानाकर्षण गराउनका लागि भने पत्र पठाए पनि कुनै सुनुवाइ नभएपछि काठमाडौं महानगर क्षेत्रभित्र सञ्चालन हुने हिन्दी फिल्महरू सोमबारदेखि बन्द गराइएको प्रवक्ता मानन्धरले बताए ।

महानगर क्षेत्रभित्र सञ्चालन हुने हल, पार्टी प्यालेस तथा मलहरू स्थानीय सरकारको कानुनमा रहेर कर तिरेर सञ्चालन भएको बताउँदै उनले महानगरले गरेको निर्णयलाई हल सञ्चालकहरूले मान्नुपर्ने बताउँछन् । ‘स्थानीय सरकारलाई कर तिरेर सञ्चालन भएका हलहरू महानगरसँग सम्बन्ध बिगार्न चाहँदैनन्,’ मानन्धरले भने, ‘महानगरले हिन्दी फिल्म सञ्चालन गर्न नदिने घोषणा गरिसकेपछि स्वाभाविक रूपमा सहयोग गर्नुपर्छ । हामी स्थानीय सरकार भएकाले पनि सहयोग गर्नुहुन्छ ।’ उनले ‘आदिपुरुष’ माथि धेरैको आक्रोश रहेको बताउँदै सम्भावित घटना हुन नदिनका लागि यो निर्णय लिइएको दाबी गरेका छन् ।

महानगर प्रहरीले नै आफैं हल बन्द गराउन मिल्ने कि नमिल्ने भन्ने स्पष्ट कानुनी व्यवस्था छैन । फिल्म हलमा प्रदर्शन हुने चलचित्र रोक्न लगाउने विषयको सवालमा भने काठमाडौं महानगरपालिकाले ल्याएको नगर प्रहरीसम्बन्धी विनियमावली २०७२ मा नगर प्रहरीलाई हलमा फिल्म प्रदर्शन रोक्न लगाउने सम्बन्धमा कुनै पनि विवरण उल्लेख छैन । परिच्छेद–३ मा नगर प्रहरीको कर्तव्य र अधिकारसम्बन्धी विवरण छ । विनियमावलीमा नगर प्रहरीलाई सार्वजनिकस्थलमा राखिएका निर्माण सामग्री हटाउन लगाउने, फुटपाथ खाली गराउने, पसलमा मूल्यसूची राख्न लगाउनेदेखि छाडा पशु पक्राउ गरेर लिलामी गर्ने, छाडा कुकुर नियन्त्रण गर्ने, मरेको जीवजन्तु समयमै गाड्नेलगायत २८ वटा काम गर्न सक्ने उल्लेख छ ।

नेपाल प्रहरीले भने हलमा असुरक्षा भएको र फिल्म प्रदर्शनमा रोक लगाउने निर्णयबारे औपचारिक जानकारी नआएको बताएको छ । काठमाडौं उपत्यका प्रहरी प्रवक्ता एसएसपी दिनेशराज मैनालीले सुरक्षाको कारण देखाउँदै हल सञ्चालकहरू आफूकहाँ नआएको बताए । नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायत हालसम्म सुरक्षाकै लागि भनेर हलबाट जानकारी नआएको बताए । उनले भने, ‘काठमाडौंका फिल्म हलमा त्यो किसिमको थ्रेट छैन । त्यो आएको भनेर जानकारी कसैले दिएको छैन । सुरक्षाको कुरा हो भने प्रहरी जतिखेर पनि परिचालित हुन्छ ।’

 

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.