Fast Nepal News

गिरोहको लहरो तान्दा राजनीतिक पहरो थर्कियो

‘छुट’ शरणार्थीका नाममा ताकेता गर्दै टेकनारायण पाण्डेको सचिवस्तरीय निर्णयबाट झापा जिल्ला प्रशासनलाई लेखिएको पत्रको ‘फलोअप’ मा बालकृष्ण खाँणको मन्त्रीस्तरीय निर्णयबाट पत्र पूर्वप्रधानमन्त्री देउवाकी पत्नी आरजु र तत्कालीन गृहमन्त्री खाँणकी पत्नी मञ्जुलाई रकम बुझाएको अडियो सार्वजनिक

banner single news

२५ बैशाख,काठमाडौँ- भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहको अनुसन्धानमा लहरो तान्दा राजनीतिक पहरो थर्किएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणकी पत्नीहरूले पनि पैसा बुझेको दाबी गरिएको अडियो सार्वजनिक भएको छ । खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डे सबुतसहित पक्राउ परिसकेका छन् भने कागजी प्रमाणअनुसार खाँण पनि अछुतो देखिएका छैनन् ।

भुटानी शरणार्थी समस्या समाधान गर्ने होइन, नक्कली शरणार्थी खडा गर्ने र पैसा उठाउने उद्देश्यले केपी शर्मा ओली नेतृत्वको सरकारका पाला कार्यदल गठन गरिएको विभिन्न कडीहरूले देखाएका छन् । केशव दुलाल र सानु भण्डारीको गिरोहले बनाएको योजनाअनुसार कार्यदल बनाई उनीहरूले नै प्रस्ताव गरेकै व्यक्ति राखिएको सम्बन्धित सदस्यले नै पुष्टि गरेका छन् । तर, ओलीको पाला सुरु भएको धन्दालाई त्यसपछि आएको सरकारका जिम्मेवार पदाधिकारीले निरन्तरता दिएको तथ्य भेटिएका छन् ।

ओलीलाई विस्थापित गर्दै देउवा सरकार बनेपछि २९ असार २०७८ मा गृहमन्त्री भएका खाँणले २७ साउनमा पाण्डेलाई गृह मन्त्रालय ल्याएका थिए । गत बुधबार पक्राउ पर्नुअघि पाण्डेले आफ्नो मोबाइल फर्म्याट (खाली) गरेको भेटिएकाले ‘रिकभर’ गर्न पठाइएको प्रहरी अधिकारीको भनाइ छ । तर, गिरोहका अन्य सदस्यका मोबाइल डिभाइसबाट प्राप्त विवरणअनुसार भने पाण्डे र गिरोहबीच निरन्तर सम्पर्क र साँठगाँठ रहेको तथ्य प्रहरीले फेला पारेको छ ।

त्यतिमात्र होइन, भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानका नाममा गठित कार्यदलको प्रतिवेदन शंकाको घेरामा परिसकेपछि पनि गृह सचिव पाण्डेले कार्यान्वयनका लागि ताकेता गरेको दस्ताबेज पनि कान्तिपुरसँग सुरक्षित छ ।

ओली नेतृत्वको सरकारका पाला २०७६ असार २९ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनमाथि प्रश्न उठेपछि गृह मन्त्रालयमै थन्किएको थियो । तर गिरोहको स्वार्थसिद्ध हुने गरी शंकास्पद प्रतिवेदन कार्यान्वयनमा नयाँ गृहमन्त्री अग्रसर भएका थिए ।

पन्थीको कार्यदलले छुटेका शरणार्थीको सूचीमा समावेश गर्न ४ सय २९ जनाको नाम सिफारिस गरेको थियो । यो प्रतिवेदनमा नै नक्कली शरणार्थी परेको भनेर प्रश्न उठेकोमा उक्त प्रतिवेदन अध्ययन गरी भुटानी शरणार्थी समस्या समाधान गर्न सुझाव पेस गर्ने गरी पाण्डेले ‘सचिवस्तरीय’ निर्णयबाट अर्को समिति गठन गरेका थिए । उनले २०७८ असोज १४ मा झापाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरे पनि झापा जिल्ला प्रशासनले भने अग्रसरता लिएन, यो विषय विवादास्पद भइसकेकाले तत्काल अघि नबढाउन मौखिक रूपमा मन्त्रालयमा जानकारी गराएको झापा प्रशासनका तत्कालीन अधिकारीहरू बताउँछन् ।

झापा प्रशासनबाट कुनै प्रतिवेदन नआउँदै २०७८ मंसिर १३ मा बसेको मन्त्रिपरिषद् बैठकले पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यसरी ओली सरकारका पालामा बनेको प्रतिवेदन देउवा नेतृत्वको सरकारले पनि कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । छुट शरणार्थी दर्ता गर्ने विषयले सरकारी मान्यता पाए पनि उनीहरूलाई तेस्रो देश पुनर्वास गराउने विषयमा कुनै पनि देशसँग सहमति भएको थिएन ।यसका लागि सुझाव पेस गर्न भन्दै फेरि झापा प्रशासनलाई पत्र लेखिएको थियो । यसअघि सचिवस्तरीय निर्णयबमोजिम पठाइएको पत्रको ‘फलोअप’ गर्न मन्त्रीस्तरीय निर्णय गरेर २०७९ जेठ २७ मा झापा प्रशासनलाई अर्को पत्र पठाइएको थियो । पहिले पाण्डेले लेखेको पत्रअनुसार काम गर्नु भन्दै भदौसम्मको म्यादसमेत थपेर गृहमन्त्री खाँणको निर्णय भन्दै लेखिएको पत्रको पहिलो बुँदामा भनिएको थियो, ‘कार्य सम्पादनको सिलसिलामा आवश्यक परे उपसमिति गठन गरी काम गर्न/गराउन सक्ने (छ) ।’

Inside Article Ads

दोस्रो बुँदामा भनिएको छ, ‘भुटानी शरणार्थीसम्बन्धी पूर्व/तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित समितिले पेस गरेको प्रतिवेदनसमेत अध्ययन गरी छुट शरणार्थीहरूसमेतका सन्दर्भमा दीर्घकालीन रूपमा समस्या समाधान र व्यवस्थापनका लागि ठोस राय एवं सुझावसहित पेस गर्ने ।’ यसरी ओली सरकारका पाला गठन भएको कार्यदल र देउवा सरकारका पाला गठन भएको समितिलाई कार्यादेश दिँदा ‘छुट शरणार्थी’ भनेर नक्कली खडा गर्ने ठाउँ बनाइएको घटनाक्रमले पुष्टि गरेका छन् ।

गृहमन्त्रीस्तरको निर्णयबाट झापा प्रशासनलाई पत्र काटिएको चौथो दिन गत जेठ ३१ मा कान्तिपुरले समाचार प्रकाशित गर्‍यो, ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गिरोहले नेपाली युवाबाट करोडौं रुपैयाँ असुलेको छ ।’ त्यसपछि गिरोहलाई रकम बुझाउने केही व्यक्ति सम्पर्कमा आएका थिए, त्यही सूचनाको लहरो तान्दै जाँदा पहरो भत्किन थालेको हो ।

‘छुट शरणार्थी’ भने अमूर्त निर्देशन आएको र ‘स्पष्ट कार्यादेश’ नभएका कारण यो विषयमा खासै काम नगरिएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको भनाइ छ । ‘पन्थीे कार्यदलले सिफारिस गरेको भनेका ४ सय २९ जना र छुट शरणार्थीका विषयमा ठोस राय र सुझाव दिन झापा प्रशासनलाई दिइएको जिम्मेवारीमा हामीले केही गरेका छैनौं । स्पष्ट कार्यादेश र समितिमा रहने जनशक्ति पनि किटान नगरेका कारण यसमा हामी अघि बढ्न सकेनौं,’ उनी भन्छन्, ‘बरु नक्कली शरणार्थी बनाउने कसुरमा संलग्नमाथि प्रहरीबाट अनुसन्धान गर्न सुझाव दिएका थियौं ।’

‘छुट शरणार्थी’ दर्ताका नाममा नक्कली शरणार्थी खडा गरी पैसा संकलन गरिएको भन्दै झापा प्रशासनले गत फागुन १७ मा गृहमा पत्र पठाएको थियो, लगत्तै चैत १२ मा काठमाडौंबाट गिरोहका ३ जना पक्राउ परेका हुन् । तर, यो धन्दामा राजनीतिक र प्रशासनिक शक्तिको मिलेमतो कुन तहमा पुगेको थियो भन्ने घटनाक्रमले खुलाउँदै छ ।

यही पृष्ठभूमिमा पूर्वप्रधानमन्त्री देउवा–पत्नी आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री खाँणकी पत्नी मञ्जु खाँणले पनि पैसा लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ । यो अडियोमा गिरोहका कुनै सदस्यले अरू कसैलाई हिसाबकिताब ‘अपडेट’ गराएको बुझिन्छ । यसमा आरजुलाई साढे २ करोड र मञ्जुलाई उनको घरमै गएर ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको छ । प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘शरणार्थी प्रकरणसँग जोडिएको अडियो अत्यन्तै महत्त्वपूर्ण हुन सक्छ, त्यसैले परीक्षण गर्न प्रयोगशाला पठाइएको छ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 38 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.