
काठमाडौं । ‘ छैठौं प्राङगारिक कृषि मेला – २०७९ ’ काठमाडौंको भृकुटीमण्डपमा आजदेखि शुरू भएको छ । अर्गानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त महोत्सव शुरू भएको हो । अर्गानिक एशोसियसन नेपालको आयोजनामा भएको उक्त मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ ले गरेका हुन् । मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले लघु घरेलु तथा साना उद्योग दर्ता र नवीकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिष्टार समेतमा कागजात र राजस्व बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हटाउन सहजीकरण गर्ने बताए । उनले प्राङगारिक खेतीलाई राज्यले प्राथमिकतामा राखेको समेत उल्लेख गरे ।
अर्गानिक उत्पादनहरूको बारेमा आम नागरिकमा जानकारी दिँदै त्यस्ता उत्पादनको प्रवर्द्धन गरी अर्गानिक अभियानलाई टेवा पुर्याउने उत्पादक, अर्गानिक उत्पादनको बजार प्रवर्द्धन गर्ने र शुद्ध भोजन स्वास्थ्य जीवनको भन्ने जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ मेलाको आयोजना गरिएको आयोजक अर्गानिक एशोसियसन नेपालका अध्यक्ष डा. दिपक प्रकाश बाँस्कोटाले जानकारी दिनुभयो ।
मेला सञ्चालन भएको केही दिनपछि नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने, उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याई मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सुपथ मूल्यमा अर्गानिक उत्पादनहरू उपलब्ध गराउने, अर्गानिक विषयहरूमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने अर्गानिक एशोसियसन नेपालकी महासचिव शान्ता बाँस्कोटाले जानकारी दिनु भएको छ ।
६ गतेसम्मका लागि संचालन हुने उक्त मेला औद्योगिक व्यापार मेलासँगै आयोजनामा आएको हो ।
