Fast Nepal News

चितवन २ उपनिर्वाचन १० वैशाखमा

banner single news

१ फागुन, काठमाडौँ-निर्वाचन आयोगले चितवन २ मा आगामी १० वैशाखमा उपनिर्वाचन गर्ने घोषणा गरेको छ । आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम चितवन २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गर्ने व्यवस्था छ । गत ४ मंसिरमा भएको निर्वाचनअनुसार प्रतिनिधिसभाको कार्यकाल साढे चार वर्षभन्दा धेरै बाँकी छ ।

१३ माघमा सर्वाेच्च अदालतले चितवन २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको नेपाली नागरिकता कायम नरहेको भन्दै सांसद पद बदर गरेको थियो । अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा नगर्दा उम्मेदवार नै बन्न नपाउने अवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई कायम रहन नमिल्ने फैसलापछि रिक्त भएको चितवन २ मा आयोगले उपनिर्वाचनको  मिति तोक्दै निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।

आयोगले निर्वाचन कार्यक्रमसमेत सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअनुसार १ फागुनदेखि १६ चैतसम्म मतदाता नामावली अद्यावधिक गर्ने अवधि तोकिएको छ । २०–२२ चैतसम्म उम्मेदवारको मनोनयन दर्ता, उजुरी, जाँचबुझ, नामावली प्रकाशन गर्ने कार्यतालिका छ । २३ गते नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तोकिएको छ ।

४ मंसिरमा सम्पन्न निर्वाचनमा देशभरमै सर्वाधिक मत पाएर निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ मा फेरि उम्मेदवार बन्दै छन् । ८३ हजार नौ सय ५६ मत खसेकोमा लामिछानेले ४९ हजार दुई सय ६४ मत प्राप्त गरेका थिए । प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८३ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ मत पाएका थिए ।

पुनः उम्मेदवार बन्ने योजनासहित केही दिनअघि चितवन पुगेका लामिछानेले मतदाता भेटेर चुनाव तयारी थालिसकेका छन् । कानुनी रूपमा आवश्यक प्रक्रिया पनि पूरा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा लामिछानेलाई उम्मेदवार बनाउने बताइसकेको छ ।

Inside Article Ads

अदालतको फैसलाबाट गैरनागरिक ठहरिएपछि लामिछानेले तत्कालै पुनः प्रक्रिया पूरा गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन् । उम्मेदवारको योग्यताअन्तर्गत पर्ने मतदाता नामावलीमा नाम दर्ताका लागि आयोगमा आवेदन दिइसकेका छन् । यद्यपि, सर्वाेच्चको फैसलामा मतदाता नामावलीबारे नबोलेकाले पुरानैलाई आयोगले अद्यावधिक गरिदिने विकल्प थियो ।

मतदाता नामावलीमा नाम समावेशका लागि आवेदन दिएकाले आयोगले हेरेर लामिछानेको नाम अद्यावधिक गरेपछि उनी उम्मेदवार बन्न योग्य हुनेछन् । आयोगले मतदाता नामावली अद्यावधिका लागि १ फागुनदेखि १६ चैतसम्मको समय तोकेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४ मंसिरको निर्वाचनपछि मतदाता नामावली संकलन कार्य जारी रहेको र चितवन २ मा उम्मेदवार बन्न आइतबारसम्म मतदाता नामावलीमा नाम संकलन गराएको हुनुपर्ने बताए । ‘उम्मेदवार हुने प्रयोजनका लागि आइतबारसम्म निवेदन दर्ता भएको हुनुपर्‍यो । निवेदनमाथि दाबी विरोध, उजुरी, सुनुवाइलगायत प्रक्रिया पूरा गरेर अद्यावधिक भयो भने उम्मेदवार हुन पाउँछ । अद्यावधिक गरेर सबै चरणबाट पार भएको व्यक्तिको अन्तिम मतदाता नामावली निकालिन्छ । यसमा नाम भएको व्यक्ति चितवन २ मा उम्मेदवार बन्न पाउँछ,’ उनले भने ।

रास्वपाका नेता डिपी अर्यालले नागरिकता लिएकै दिन मतदाता नामावली अद्यावधिकका लागि आवश्यक कागजातसहित निवेदन दर्ता गराएको बताए । आयोग प्रवक्ता पौडेलका अनुसार लामिछानेसँग सम्बन्धित केही उजुरी आयोगमा विचाराधीन छन् । रवि गैरनागरिक भएको भन्दै सर्वाेच्च गएका युवराज पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निवेदन दिएका छन् भने लामिछानेका प्रतिस्पर्धी उमेश श्रेष्ठले आफूलाई स्वतः निर्वाचित गर्न माग गर्दै निवेदन दिएका छन् । यी निवेदनको फस्र्योट हुन बाँकी छ ।

समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.