
सोलुखुम्बु — ०२ फागुन २०७८
सोलुखुम्बु , ठेक्का सम्झौता भएको ५ वर्षपछि सोलु करिडोर प्रसारण लाइनले पूर्णता पाएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा उत्पादित जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने हेतुले २०७३ साल असोजमा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का लागे पनि स्थानीयको पटकपटकको अवरोधका कारण ५ वर्षमा मात्रै प्रसारण लाइन निर्माणले पूर्णता पाएको हो । सिराहाको मिर्चैयादेखि सोलुखुम्बुको तिंलास्थित लाम्माने सवस्टेसनसम्म ८९.५ किलोमिटरमा ३ सय २ वटा टावर निर्माण गरी सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माण गरिएको हो । यसअघि दुई पटक गरिएको परीक्षण प्रसारण सफल भएसँगै आजबाट जिल्लामा उत्पादित विद्युत् पूर्ण क्षमतामा राष्ट्रिय प्रसारण लाएनमा जोडिने आयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिए ।
यसअघि लाहान–उदयपुर–खोटाङ–ओखल्ढुंगा हुँदै आएको ३३ केभी प्रसारण लाइनमा अधिकतम ४–५ मेगावट विद्युत् मात्र निर्यात हुँदै आएको थियो । अहिले जिल्लामा एकमुष्ट २ सय मेगावटभन्दा बढी क्षमता उत्पादन गर्ने गरि आधा दर्जन जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेका छन् । ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना र ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन गर्ने बताएका छन् । जिल्लालाई १३२ केभी प्रसारण लाइनले जोडेसँगै लोडसेडिङको समस्या समेत समाधान हुनेछ ।
( कान्तिपुर दैनिक )
