
काठमाडौँ — २३ पुस २०७८
काठमाडौँ , सुदूरपश्चिम प्रदेशको डोटीमा क्याम्पस खोलेर इन्जिनियरिङको पठनपाठन गराउने स्थानीयवासीको सपना पूरा हुने भएको छ । डोटीमा खप्तड इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने ६ वर्षदेखिको योजनाले खासै गति लिन नसकिरहँदा पछिल्लो समय जग्गाको चाँजोपाँचो मिलेपछि स्थानीय उत्साही बनेका छन् । दिपायल सिलगढी–६ मा त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ आंगिक क्याम्पस खोल्नका लागि करिब डेढ सय रोपनी जग्गा खरिद गर्ने प्रक्रिया अघि बढेको छ । त्यसका लागि नगरपालिकाले डेढ करोड बजेटसमेत छुट्याएको छ । प्रत्येक प्रदेशमा आंगिक इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने सरकारको नीतिअनुसार डोटी, दाङ र महोत्तरीलाई २०७२ सालमै छनोट गरिएको थियो ।
उपयुक्त जग्गा नभेटिँदा सम्भाव्यता अध्ययनपछि पनि डोटीमा क्याम्पस स्थापनाको योजना सफल हुन सकेको थिएन । ‘नगरपालिकाले जग्गा किनिदिएको छ, क्याम्पसको नाममा लालपुर्जा आएपछि गुरुयोजना बनाएर काम अघि बढ्छ,’ त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका सहायक डिन सुशील बज्राचार्यले भने, ‘डोटीमा खप्तड इन्जिनियरिङ क्याम्पस खोल्ने निर्णय भइसकेको छ । सरकार र त्रिविले सहयोग गरे छिट्टै त्रिविको आंगिक क्याम्पस खुल्छ ।’ डोटीमा इन्जिनियरिङ पढाइ सुरु भए बझाङ, बाजुरा, अछाम, डडेलधुरा, बैतडीलगायत सुदूरपश्चिमका नौवटै जिल्लाका विद्यार्थीलाई घरपायक पर्छ । अहिले यी क्षेत्रका विद्यार्थी महेन्द्रनगर, नेपालगन्ज पुगेर इन्जिनियरिङ पढिरहेका छन् ।
डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशीले क्याम्पसको नाममा पुर्जा बनेपछि गुरुयोजनाको काम सुरु हुने बताए । जोशीलाई त्रिविले इन्जिनियरिङ क्याम्पस खोल्न स्थानीय सम्पर्क व्यक्तिसमेत तोकेको छ । ‘सुरुमा भनेजस्तो जग्गा भेटिएन, त्यसैले गुरुयोजनाको काम अघि बढ्न सकेन,’ उनले भने, ‘नगरपालिकाले नै जग्गा किनिदिएपछि त्रिविबाट अनुमति लिएर पूर्वाधार निर्माण अघि बढ्छ ।’ दिपालय सिलगढी नगरपालिकाकी प्रमुख मञ्जु मलासीले क्याम्पस स्थापनाका लागि उपयुक्त स्थानको सबैभन्दा सस्तो जग्गा किन्ने निर्णय भएको जनाइन् । ‘जग्गा नापचाँजसमेत गराइसक्यौं, सडक पनि पुर्यायौं, अब क्याम्पस खुल्छ,’ उनले थपिन् ।
( कान्तिपुर दैनिक )
