Fast Nepal News

रोगले सुन्तला उत्पादनमा ह्रास

banner single news

पर्वत — ७ पुस २०७८

पर्वत , अघिल्ला वर्षहरुमा घरबाटै ३ लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेका थिए । यो वर्ष ५० हजार रुपैयाँ पनि आम्दानी नहुने बताउँछन् दाताराम चापागाईं । सुन्तला उत्पादनमा जिल्लाकै मुख्य क्षेत्र मोदी–२ देउपुरकी सत्यदेवी तिमिल्सिनाले पनि यो वर्ष सुन्तला बिक्री गरेर ३० हजार रुपैयाँ पनि आम्दानी नहुने आकलन गरिन् । फूल फुल्ने र फल पाक्ने बेला रोगको संक्रमण हुँदा पछिल्लो ३ वर्षयता किसान समस्यामा छन् । पाकेको फल धमाधम झरेकाले अहिले बोटमा फलेकोमध्ये २० प्रतिशत मात्रै सुन्तला बचेको किसानहरू बताउँछन् । सुरुमा केही बोटमा देखिएको यो समस्या यो वर्ष भने गाउँभरि फैलिएको छ । माछापुच्छ्रे सुन्तला उत्पादक सहकारीका अध्यक्षसमेत रहेका चापागाईंका अनुसार तल्लो दोबाटामा यो समस्या गत वर्षबाट देखि थालेको हो । ‘गतवर्ष कडेनी आसपासका बगैंचामा यो समस्या देखिएको थियो,’ उनले भने, ‘अहिले सर्दै गएर गाउँभरी भएको छ ।’

उनका अनुसार सुन्तलामा २ प्रकारको रोग देखिएको छ । ‘टाइफुलेट’ जातको भाले किराले सुन्तलाको फूल र बचिला झार्ने र पाक्ने बेलामा पनि ‘ग्रिन सिटासिल्ला’ नामको भाइरसका कारण फल झर्ने समस्या व्याप्त छ । फूल लाग्ने समयमा देखिएको समस्या समाधानमा किसानले हदैसम्मको प्रयास गरे । कृषि प्राविधिकका अनुसार ‘फेरामेन ट्रयाप’ मा ‘मिथाइल युजिल’ मिलाएर राख्दा टाइफुलेट मर्थ्यो । ‘दुई वर्षयता त्यो उपाय पनि काम लागेन,’ चापागाईंले भने । प्राविधिकले ग्रिन सिटासिल्लालाई मानिसलाई लाग्ने एचआईभी एड्ससँग तुलना गर्दै यो समस्या समाधान नहुने बरु नयाँ बोट रोप्नेबाहेक अरु विकल्प नभएको बताउने गरेका छन् । वर्षौंदेखि आर्थिक उपार्जनको मुख्य स्रोतको रुपमा रहेको सुन्तलाखेतीबाट आम्दानी घटेपछि किसानहरू समस्यामा छन् । ‘भनौं कसले घाटा पूर्ति गर्छ र भन्ने ? नभनौं वर्षभरिको आम्दानी गुमेको छ । पहेँलपुर हुने सिजनमा रित्ता बोट छन्,’ स्थानीय तिमिल्सिनाले भनिन्, ‘झरेर अलिअलि बचेकुचेका गेडा पनि बाँदर आएर सखाप पार्दियो ।’ स्थानीय अगुवा किसान भूमिराज शर्माका अनुसार कुनै बेला देउपुरमा मात्रै ३ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन हुन्थ्यो ।

Inside Article Ads
‘अहिले गाउँभरि ५० लाखको पनि सुन्तला छैन,’ उनले भने, ‘यहाँका ७ सयमध्ये झण्डै ४ सय परिवारले व्यावसायिक सुन्तलाको खेती गर्दै आएका छन् ।’ सुरुसुरुमा सुन्तला बजारसम्म पुर्‍याउन समस्या थियो । ३ वर्ष भयो गाउँसम्मै कालोपत्रे सडक पुगेको छ । यातायातको पहुँच सहज भएसँगै किसानहरूले सुन्तलामा भविष्य देखे । व्यवसायिक सुन्तला खेतीमा लाग्नेको संख्या पनि बढ्दै गयो । तर किसानले आफूखुसी बिरुवा ल्याएर रोप्न थाले । खेती विस्तार गर्ने र छिटो आम्दानी लिने लोभमा कृषि प्राविधिकले सिफारिस नगरेका र प्रमाणित नभएका जात र स्थानबाट बिरुवा ल्याउँदा यी रोगसमेत भित्रिएको कतिपय किसानको बुझाइ छ । ‘कतैबाट प्रमाणित भएको त छैन,’ सहकारी अध्यक्ष चापागाईं भन्छन्, ‘कृषि अनुसन्धान परिषद् र प्राविधिकले सिफारिस नगरेका बिरुवा ल्याएर लगाउन सुरु गरेपछि यस्तो समस्या देखिएको भने हो ।’ यो समस्या लिएर नार्कसम्म पुग्दा समेत समाधान पहिल्याउन नसकिएको उनले बताए । अब गाउँभरिका पुराना सबै बोट हटाएर नयाँ र रोग सहन सक्ने जातका बोट नलगाए देउपुरलाई सुन्तलाको नामले चिनाउन नसकिने अगुवा किसानको निष्कर्ष छ । कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले सुन्तलामा देखिएको यस्तो समस्या एकैपटक समाधान हुन नसक्ने बताइन् । सुन्तलाको बिउ, बिरुवा उत्पादनदेखि फल लाग्ने बेलासम्मको मौसम, जलवायु परिवर्तनलगायतका कारण यस्तो समस्या देखिएको हुन सक्ने उनको आकलन छ । ‘त्यसका लागि वातानुकुलित बिरुवा लगाउनुपर्छ,’ उनको सुझाव छ ।    

( कान्तिपुर दैनिक )

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.