
भदौ, काठमाडौं । निजी क्षेत्रका प्रतिनिधिहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।
समस्यामा परेका उद्योग व्यवसायलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फस्न नदिने बताएका छन् ।
अर्थमन्त्रालयको जिम्मेवारीसमेत आफैंले राखेपछि प्रधानमन्त्री ओलीले आइतबार निजी क्षेत्रसँग छलफल गरेका हुन् । छलफलमा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलका साथै अन्य मन्त्रीहरुको पनि उपस्थिति थियो ।छलफलमा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरु सहभागी भएका थिए ।
प्रधानमन्त्री ओलीले सरकारको ध्यान कर असुलीमा मात्रै होइन, निजी क्षेत्रको विकासका लागि पनि केन्द्रित रहेको उद्योगी व्यवसायीहरुलाई बताए । अहिले सरकारको मुख्य ध्यान नागरिकको जीवन बचाउन केन्द्रित भएको प्रधानमन्त्रीले उद्योगी व्यवसायीहरुलाई बताए ।महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, परिसंघका अध्यक्ष सतिश मोर, निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायतका उद्योगी व्यवसायीहरु बालुवाटारको सहभागी बैठकमा सहभागी थिए ।
