
लमजुङ — ६ भाद्र २०७८
लमजुङ, जिल्लाका ८ स्थानीय तहमा आर्थिक वर्ष २०७६/७७ मा २४ करोड ७२ लाख ८६ हजार रुपैयाँ बेरुजु निस्किएको छ । उक्त वर्ष कार्यान्वयनमा रहेको ७ अर्ब ३६ करोड ३६ लाख ४१ हजार रुपैयाँ बजेटको लेखा परीक्षण भएकोमा ३.३५ प्रतिशत रकम बेरुजु निस्किएको हो ।महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिकामा ६.८८ प्रतिशत रकम अर्थात् ६ करोड ४२ लाख ४८ हजार रुपैयाँ बेरुजु रहेको छ । सबैभन्दा कम क्ब्होलासोंथर गाउँपालिकामा ०.७७ प्रतिशत रकम बेरुजु रहेको छ ।
क्ब्होलासोंथर, दोर्दी र दूधपोखरी गाउँपालिकामा १ प्रतिशतभन्दा कम रकम बेरुजु रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा छ ।राइनास नगरपालिकामा ५ करोड ९३ लाख ४३ हजार बेरुजु छ । बेंसीसहर नगरपालिकामा ५ करोड ७९ लाख ६९ हजार, मध्यनेपाल नगरपालिकामा ३ करोड ९१ लाख २३ हजार, सुन्दरबजार नगरपालिकाको १ करोड १० लाख ४६ हजार रुपैयाँ बेरुजु निस्किएको छ ।क्ब्होलासोंथर गाउँपालिकामा ३७ लाख ७० हजार, दोर्दी गाउँपालिकामा ६९ लाख ३२ हजार रुपैयाँ, दूधपोखरी गाउँपालिकामा ४८ लाख ५५ हजार रुपैयाँ बेरुजु छ । मर्स्याङ्दी गाउँपालिका प्रमुख अर्जुन गुरुङले केही नीतिगत बेरुजु रहेको बताए ।
राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले सैद्धान्तिक बेरुजु रहेको बताए । उनका अनुसार केही विद्यालयलाई दिइएको अनुदानको बेरुजु छ । ‘केहीको कागजातपत्र र प्रतिवेदनहरू पुगेको छैन । काम सकियो, निकासा रोकिदिनु भएन ।हामी निर्णय गराएर ल्याउँछौं भनेपछि निकासा दिइयो । अहिले बेरुजुमा आएको छ,’ उनले भने । उनका अनुसार निकासा प्रक्रिया पूरा नहुँदा समस्या आएको छ । ‘केही असुलउपर गर्नुपर्ने बेरुजु पनि नभएका होइनन् । असुलउपर गर्नुपर्नेलाई पत्राचार गरेका छौं,’ उनले भने ।
(कान्तिपुर दैनिक)
