Fast Nepal News

एकै परिवारबाट दुई बोलपत्र हाल्न लगाएर अनियमितता

banner single news

सुनसरी — ४ भाद्र २०७८

सुनसरी, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०७६ साउन १ देखि चैत २६ सम्म गरिएको आन्तरिक लेखा परीक्षणमा अनियमितता भएको प्रमाण फेला परेको छ । राठी पीके एन्ड एसोसियटस् चार्टर्ड अकाउन्टेन्ट्सले प्रतिष्ठानको आन्तरिक लेखा परीक्षण गरेको थियो ।कान्तिपुरलाई प्राप्त आन्तरिक लेखा परीक्षणको प्रतिवेदनअनुसार ग्लोब खरिदका लागि २०१९००००२१ नम्बरको टेन्डर आह्वान गर्दा गर्ग इम्पेक्स र मेडी पोइन्ट इन्टरनेसनल प्रालिसमेतले बोलपत्र हालेकामा गर्ग इम्पेक्सले पेस गरेको २ करोड ८२ लाख २६ हजार २ सय ७० रुपैयाँको बोलपत्र स्वीकृत भयो । तर, बोलपत्र हाल्ने दुइटा कम्पनी एउटै परिवारबाट सञ्चालित रहेको आन्तरिक लेखा परीक्षणको प्रतिवेदनमा उल्लेख छ । गर्ग इम्पेक्सका सञ्चालक पवनकुमार अग्रवाल र मेडी पोइन्ट इन्टरनेसनल प्रालिका सञ्चालक दिनदयाल अग्रवाल एउटै परिवारका मात्र होइनन्, गार्ग डेन्टल प्रालिका सञ्चालकसमेत हुन् ।

आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता फर्म पवनकुमार, दिनदयाल, चेतन, अशोक र उमेश, कृष्ण र बलरामलगायतका व्यक्ति सञ्चालक रहेका एकाघरको भएको पनि उल्लेख गरिएको छ ।उनीहरूको नाममा गर्ग इम्पेक्स, द मेडिकल सोल्युसन, बायोमेड इन्टरनेसनल, प्रोसिजन मेडिकल प्रालि, डेन्टमार्ट इन्टरनेसनल, मेडिपोइन्ट इन्टरनेसनल र सर्जिडेन्ट हाउस छन् । प्रतिष्ठानले वार्षिक रूपमा अर्ब रुपैयाँभन्दा बढीको मेडिकल उपकरण, विभिन्न सामानहरू खरिद गर्दै आएकोमा अन्य केही कम्पनी र अग्रवाल दाजुभाइले मात्र ठेक्का पार्दै आएका छन् । यसैगरी दन्तचिकित्सा महाविद्यालयका लागि आवश्यक मेडिकल उपकरण खरिदका गर्दा पनि आर्थिक अनियमितता भएको छ ।

आर्थिक वर्ष ०७५/७६ मा दन्त उपचारसम्बन्धी मेडिकल उपकरण खरिद गर्दा ठेक्का नम्बर २०१८००००४९ को बोलपत्र कोटेसन माग गरिएको थियो । ३ करोड १३ लाख ७० हजार ५२ रुपैयाँको बोलपत्र केटेसनमा १३ प्रतिशत भ्याट समावेश गरिए पनि भ्याट नजोडिएको भनेर ३ करोड १६ लाख ९ हजार ७ सय ३५ रुपैयाँको लागत निकालियो ।अन्तिम लागत तयार गर्दा थप १३ प्रतिशत भ्याट (४१ लाख ९ हजार २ सय ६५ रुपैयाँ) जोडेर ३ करोड ५७ लाख १९ हजार १ रुपैयाँ कायम गर्दा र दुई पटक भ्याट जोड्दा सोझै ३२ लाख ९६ हजार ८ सय ३४ रुपैयाँ बढी देखाएको आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।वास्तविक लागत २ करोड ७९ लाख ७३ हजार २ सय १७ मा हुने ठेक्कालाई सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत कृत्रिम लागत ३ करोड ५७ लाख १९ हजार एक रुपैयाँ देखाएर चेतन अग्रवाललाई ३ करोड १२ लाख ७० हजार ५२ रुपैयाँमा ठेक्का दिइएको उल्लेख छ । चेतन अग्रवाल बीपी प्रतिष्ठानकै मेडिकल उपकरण खरिदमा पदाधिकारीसँग मिलेमतो गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेर हाल फैसला हुन बाँकी कम्पनीका सञ्चालक हुन् ।

बेथिति र अनियमितताले पराकाष्ठा नाघेको बीपी प्रतिष्ठानमा मेडिकल उपकरण सामग्री आपूर्तिकर्ता कम्पनीहरूले खरिद शाखा, लेखा शाखा र स्टोर शाखाका कर्मचारी र पदाधिकारीसँगको मिलोमतोमा नमुनासमेत नदेखाई सीधै प्रयोगशालामा पुर्‍याइने गरिएको छ ।प्रतिष्ठानले आर्थिक वर्ष ०७६/७७ मा डाइग्नोस्टिक किट तथा रियाजेन्ट खरिदका लागि आह्वान गरेको २०१९००००१६ नम्बरको टेन्डर राज ट्रेड कन्सर्न, गर्ग इम्पेक्स र गौतम इन्टरनेसनललाई पर्‍यो । १ करोड २१ लाख ७१ हजार ८ सय ५७ रुपैयाँ लागत अनुमानको बोलपत्र स्वीकृत भएपछि कम्पनीले किटको नमुना नै देखाएन । नमुनाको जाँचबिनै प्रतिष्ठानले प्रयोगशालामा ती किट सामग्री स्वीकृत गरिएको थियो ।

कतिसम्म भने कमिसनका लागि कर्मचारी र पदाधिकारीहरूले प्रतिष्ठानका विभाग र बायोमेडिकल इन्जिनियरले तयार गरेको स्पेसिफिकेसनलाई व्यापारीको सुझावमा रातारात संशोधनसमेत गरिएको पाइएको छ । स्वास्थ्य सामग्री खरिदका गर्न आह्वान गरिएको २०१९००००२१ नम्बरको टेन्डर गर्ग इम्पेक्सलाई पर्‍यो । २ करोड ८२ लाख २६ हजार २ सय ७० को ठेक्कामा व्यापारीकै सुझावमा उपकरणको स्पेसिफिकेसन संशोधन गरियो । अन्तर्राष्ट्रिय मापदण्डअन्रुूप उपकरणको स्पेसिफिकेसन नबनाई बदनियतपूर्ण तवरले व्यापारीको स्वार्थमा संशोधन गर्नु सार्वजनिक खरिद ऐनविपरीत हो ।

व्यापारीको स्वार्थमा मेडिकल उपकरणको स्पेसिफिकेसन संशोधन गर्नु प्रतिष्ठानका लागि सामान्य भएको बेला कर चुक्ता गरेको प्रमाणपत्र नै देखाउन नसक्ने अर्को एक कम्पनीलाई बोलपत्र स्वीकृत पनि गरिएको पनि पाइएको छ । अस्पतालमा प्रयोग हुने लिनेन खरिदका लागि आह्वान भएको २०१९००००२५ नम्बरको टेन्डरमा श्याम सर्जिकल सप्लायर्सको बोलपत्र स्वीकृत भयो । ७१ लाख ७३ हजार २ सय ४० रुपैयाँको उक्त ठेक्का पार्ने कम्पनीले कर चुक्ताको प्रमाणपत्रसमेत बुझाएन । प्रतिष्ठानले पनि मागेन ।

Inside Article Ads

आपूर्तिकर्ता कम्पनीले सामग्रीको नमुनासमेत पेस गरेन । यति मात्र नभएर सार्वजनिक ऐनअनुसार अन्य तीनवटा व्यापारिक फर्मसँग कोटेसन मागसमेत गरिएन । तर पनि यो कम्पनीको बोलपत्र स्वीकृत भयो । कतिपय खरिदसम्बन्धी कागजातसमेत प्रतिष्ठानका कर्मचारी र पदाधिकारीले गायब पार्ने गरेका छन् । स्वास्थ्य सामग्रीहरू (ब्यान्डेज, कटनलगायत) को खरिदका लागि आह्वान गरिएको १०१९००००० नम्बरको टेन्डरमा राज ट्रेड कन्सर्नको बोलपत्र स्वीकृत भयो ।१ करोड ३० लाख ३७ हजार ३ सय ७५ रुपैयाँको उक्त ठेक्काका सबै कागजात गायब भएका प्रतिष्ठान स्रोतले बतायो । त्यस्तै केमिकल खरिदका लागि आह्वान गरिएको १०१८००००४५ नम्बरको टेन्डरमा प्रेसिसन मेडिकल प्रालिको बोलपत्र स्वीकृत भयो । २५ लाख ४० हजार २ सय ४० रुपौयाँको उक्त ठेक्काका खरिदसम्बन्धी कागजात गायब नै छन् ।

आन्तरिक लेखा परीक्षकको प्रतिवेदनअनुसार प्रतिष्ठानको खरिद शाखा प्रमुख सागरकुमार ताम्राकारले अवस्थाअनुसार अनियमित ढंगले फरकफरक हस्ताक्षर गर्ने गरेको देखिन्छ ।लेखा परीक्षणको सारांशमा भनिएको छ, ‘लागत अनुमान विश्वसनीय देखिएन । एउटै फर्मले एउटै उपकरणको दिएको कोटेसन मूल्य र बोलपत्रमा किटेको मूल्यमा ठूलो अन्तर देखिएको, दररेट दिँदा कोटेसनमा परल मूल्यभन्दा अत्यधिक मूल्य दिने गरेको, मिलिभगतमा टेन्डर नहाल्ने व्यापारीसँग बढी मूल्यमा कोटेसन लिने गरेको, एकाघरका सँगोल दाजुभाइले एकै टेन्डरमा मिलेर हाल्ने गरेको, लागत अनुमान निकाल्दै चलखेल गरेर रकम बढी निकाल्ने गरेको, मेडिकल उपकरणको स्पेसफिकेसन आफ्नो स्वार्थअनुकूल व्यापारीलाई तयार गर्न दिँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको पाइएको छ ।’

यसैगरी, प्रतिष्ठानको स्टोर शाखाले गुणस्तर चेक जाँच नै नभएको मेडिकल सामग्री सीधै विभिन्न वार्ड विभागमा प्रयोगका लागि पठाउने गरेको र कतिपय कामै नलाग्नै अवस्थामा पुगेका सामग्री पनि स्टोरमै राख्ने गरेको, स्टोर शाखामा के कति सामग्री दाखिला भयो त्यस्तो कुनै पनि रेकर्ड नराख्ने गरेको, प्रतिष्ठानले अस्पतालमा चाहिने मेडिकल उपकरण, विभिन्न सामग्रीहरूको गुणस्तर जाँच नै नगरी खरिद गर्ने गरेको, गुणस्तर जाँच अगाडि नै व्यापारीलाई जानकारी दिएर चलखेल गर्ने गरेको, खरिद शाखा प्रमुख सागर ताम्राकारको फरकफरक हस्ताक्षर पाइएको पनि आन्तरिक लेखा परीक्षणको प्रतिवेदनले औंल्याएको छ ।हाल प्रतिष्ठानको स्टोर शाखा प्रमुख सञ्जीव कर्ण छन् ।

उनी पहिले कम्प्युटर शाखा प्रमुख थिए । मेडिकल उपकरणको स्पेसिफिकेसन हेर्न भने बायोमेडिकल इन्जिनियरको सट्टा प्रतिष्ठानले इलेक्ट्रोनिक्स इन्जिनियर राहुल मिश्रलाई जिम्मेवारी दिएको छ भने खरिद शाखा प्रमुख ताम्राकार र लेखा प्रमुख कमल रायमाझी छन् । रायमाझीलाई हालै मात्र अर्को शाखामा सरुवा गरिएको छ ।

(कान्तिपुर दैनिक)

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.