
मोरङ — १ भाद्र २०७८
सत्तारुढ दल कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरेका छन् । उनले ओली सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने अनि अहिले आफैं सरकारको नेतृत्वमा गएपछि पुन: त्यही अध्यादेश ल्याउने भन्दै प्रश्न गरेका छन् । विराटनगरस्थित कोइराला निवासमा मंगलबार कान्तिपुरसित नेता कोइरालाले भने,’तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीले पनि अध्यादेश ल्याउँदा कांग्रेसले विरोध गर्यो तर अहिले आफैं सरकारको नेतृत्वमा गएपछि पुन: त्यही गल्ती दोहोर्याउन मिल्छ ?’चलिरहेको संसद हठात् अन्त्य गरेर राजनीति दल सम्बन्धी ऐन अध्यादेश ल्याएर अन्य दललाई विभाजन गर्ने कांग्रेसको संस्कार नभएको कोइरालाले टिप्पणी गरे ।
‘सरकारले संसद्लाई बलियो बनाएर अघि बढ्नुपर्ने अवस्थामा हठात् संसद् अन्त्य गरेर अध्यादेशमार्फत देश चलाउनु आवश्यक छ ?,’ उनले भने ।सरकारले आफ्नो सुविधा अनुसार सरकार सञ्चालनका लागि अध्यादेश ल्याउनु ठीक भएपनि यसले लोकतन्त्र कमजोर हुने नेता कोइरालाको भनाइ थियो । सरकारले अध्यादेश ल्याएर यसअघिका सरकारले गरेको गल्तीलाई नै निरन्तरता दिएको उनले बताए ।हालै लामो समय पार्टीको केन्द्रीय कार्य समितिको बैठक चल्दा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेशको बारेमा कुनै चर्चा नगरेको उनले सुनाए । पार्टीको बैठकमा समेत छलफल नगरी अध्यादेश ल्याउनु उचित नभएको उनको भनाइ थियो ।
(कान्तिपुर दैनिक)
