Fast Nepal News

प्राविधिक उत्पादन गर्न शैक्षिक कर्जा

banner single news

अर्घाखाँची — ३२ श्रावण २०७८

अर्घाखाँची, गाउँमै प्राविधिक उत्पादन गर्न मालारानी गाउँपालिकाले प्राविधिक शिक्षा कर्जा कार्यक्रम ल्याएको छ । पाँच क्षेत्रका प्राविधिक विषय अध्ययनका लागि गरिब, विपन्न, दलित र जेहेन्दार विद्यार्थीलाई पाँच वर्षसम्म रकम उपलब्ध गराउने भएको हो । एसईई अध्ययनपछि पैसा नभएर पढ्नबाट वञ्चित विद्यार्थीले गाउँपालिकाको लगानीमा स्नातक वा सोभन्दा माथि पढ्न पाउने भएका छन् । पाँच क्षेत्रमध्ये मेडिकल साइन्स, कृषि विज्ञान, भेटेनरी, फरेस्टी र इन्जिनियर प्राविधिक शिक्षाका लागि शैक्षिक कर्जा कार्यक्रम ल्याएको हो । यी विषय पढ्ने प्रत्येक विद्यार्थीलाई पाँच वर्षसम्म बर्सेनि एक लाख रुपैयाँ दिइने प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले बताए । पालिकाभित्र कुनै विषयको कलेज छैन ।

नेपालको जुनसुकै कलेजमा पढ्ने विद्यार्थीलाई प्रतिविद्यार्थीलाई पाँच वर्षसम्म बर्सेनि एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराएर गाउँपालिकाभित्रै प्राविधिक उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । आइतबारसम्म १८ जनाले निवेदन दिएको उनले बताए ।गाउँपालिकाभित्र बाहिरबाट प्राविधिक ल्याएर काम लगाउनु परेको छ । अब पढाएर यहीँ नै स्वरोजगार दिने उद्देश्यले शैक्षिक कर्जा कार्यक्रम ल्याइएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए । गरिबीका कारण पैसा नभएरै पढ्न नपाएकालाई पालिकाले खर्च उपलब्ध गराएर पढाउन थालेको हो । ‘गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्न यो कार्यक्रम ल्याइएको हो,’ उनले भने, ‘अध्ययन पूरा भएपछि वडा र पालिकामा रोजगारी दिन्छौं ।’

Inside Article Ads

प्रत्येक वडामा कृषि प्राविधिक राखेर बाँझिदै गरेका बारीमा कृषि उत्पादन गर्न कृषकलाई प्रोत्साहन गरिनेछ । बेरोजगार युवालाई कृषि उद्यममा जोडेर स्वरोजगार बनाउन गाउँ–गाउँमा कृषि प्राविधिक राखेर खेती गर्ने तरिका, रोगकिराबाट बाली जोगाउने, थोरै जग्गामा धेरै उत्पादन र कृषिमा आधुनिकीकरण र व्यावसायिक बनाउने लक्ष्य रहेको उनले बताए । भेटेनरी प्राविधिक पढाएर पशुपालनमा वृद्धि ल्याइने उनले बताए । खसीबोका, दूध, मासु उत्पादन गरी बेरोजगार युवालाई स्वरोजगार बनाउन प्राविधिक परिचालन गरिनेछ । ‘हामीले पढाएका विद्यार्थीलाई पनि पालिकाभित्रै रोजगारी दिन्छौं,’ आचार्यले भने ।

(कान्तिपुर दैनिक)

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.