Fast Nepal News

विद्युत् अनियमित हुने समस्या समाधान गर्न माग

banner single news

काठमाडौँ — २० श्रावण  २०७८

काठमाडौँ , पूर्वका उद्योगी–व्यवसायीले पछिल्लो समय विद्युत् आपूर्ति प्रणालीमा आएको समस्याको अन्त्य हुनुपर्ने माग गरेका छन् । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा विद्युत्को समस्याका कारण उद्योगहरूको उत्पादन क्षमतामा ह्रास आएकाले तत्काल समस्या हल गर्न माग गरिएको हो ।चार वर्षयता विद्युत आपूर्ति सहज बनेको भए पनि तीन महिनायता विराटनगर, कटहरी, बुढीगङ्गा लगायतका क्षेत्रमा अनियमित, ट्रिपिङ र न्यून भोल्टेजको समस्याले हैरान पारेको भन्दै सम्बन्धित कार्यालयका प्रमुखसँग प्राविधिक समस्या हल गरिनुपर्ने माग गरिएको छ । मोरङ व्यापार सङ्घले नेपाल विद्युत् प्राधिकरण प्रादेशिक तथा विराटनगर वितरण केन्द्रका प्रमुखसँग विद्युत् समस्याबारे छलफलको आयोजना गरेर ध्यानाकर्षण गराइएको हो ।

नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारी, विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेशकुमार गोहिवारसँग उद्योगी–व्यवसायीले समस्या पहिचान गरेर तत्काल हल खोजिदिन माग गरेका थिए ।
मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले चार वर्षअघि सुधारिएको आपूर्ति प्रणाली तीन महिनायता बिग्रनुपर्ने कारणबारे प्राधिकरणका प्रमुखले जिम्मेवारी लिनुपर्ने बताउनुभएको थियो ।

Inside Article Ads

विद्युत् ट्रिपिङ एवं भोल्टेजको घटबडका कारण उद्योगका विद्युतीय उपकरणहरूमा क्षति पुग्ने, उत्पादनको प्रक्रियामा रहेका एवं आवश्यक तापक्रम कायम गरी राखिएका कच्चा पदार्थ खराब भई खेर जाने क्रम बारम्बार भइरहेकाले त्यसको व्ययभार थाम्न नसक्ने अवस्था आएको उद्योगी पवनकुमार सारडाको गुनासो छ ।नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारीले समस्या समाधानका लागि प्रदेश स्तरबाट गर्न सकिने काममा ध्यान दिने र आवश्यकताअनुसारको व्यवस्था मिलाउन केन्द्रसँग सहयोग लिने प्रतिबद्धता जनाउनुभयो ।

(गोरखापत्र अनलाइन)

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.