
काठमाडौँ — १८ श्रावण २०७८
काठमाडौँ, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार भएको कार्यक्रममा सात वटा राष्ट्रिय पुरस्कार तथा नेपालले जितेको एउटा अन्तर्राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले विजयी चलचित्र तथा चलचित्रकर्मीहरुलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरे ।
नेपाली फिचर फिल्म प्रतियोगिताअन्तर्गत बेस्टफिचर फिल्मअवार्ड‘आमा खाँन्डो’ले नगद पुरस्कार एक लाखसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै वेष्ट पेन्डेमिक फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुरस्कृत ‘सिभिल सोल्जर’का लागि गणेश पाण्डेले नगद ५० हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । यसैगरी नेपाली सर्टफिल्म प्रतियोगिताअन्तर्गत राजेशप्रसाद खत्रीको अ स्केयर क्रोले बेस्ट सर्ट फिल्म अवार्ड नगद ५० हजार र ट्रफी प्राप्त गर्यो ।
त्यस्तै कार्यक्रम निफका संयोजक केपी पाठकले चौंथो संस्करण विजयी चलचित्रकर्मीहरुलाई बधाई दिँदै आफ्ना केही तिता अनुभव पनि सेयर गरे । विशेष गरेर नेपाली चलचित्रकर्मीले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन देखाएको उदासिनमा दुखेसो पोखेका पाठकले पाँचौ निफमा चौथोमा जस्तो फिचर फिल्म प्राप्त गर्न दु:ख नहुनेआशा व्यक्त गर्दै अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाइरहेको यस महोत्सव नेपाली चलचित्रकर्मीका लागि पनि महत्वपूर्ण प्लेटफोर्म भएको र अन्तर्राष्ट्रिय बजारीकरणमा लागिरहेकोले यस महोत्सवमा सम्पूर्ण नेपाली चलचित्रकर्मी र क्षेत्रले सक्रिय सहभागिता जनाइ आफ्नो महसुस गर्दै सो अवसर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।
‘विश्वका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’भन्ने नाराका साथ आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करणको आवेदन खुल्ला गरिएको औपचारिक रुपमा घोषणा पनि आजै गरिएको छ । www.niff.org.npor filmfreeway.com/niff2022 बाट गत असार १७ (जुलाई १, २०२१) गतेदेखि नै आवेदन खुल्ला गरिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुले २०७८ पुस १०(डिसेम्बेर २५, २०२१) गतेसम्म आफ्ना चलचित्र तथा वृत्तचित्र आवेदन दिन सक्नेछन् । त्यस्तै २०७८ माघ ११ (जनवरी २५, २०२२) गतेमा छनोट भएका चलचित्रहरुको घोषणा गरिनेछ ।निफको पाँचौ संस्करण २०७८ चैत्र १० देखि १४ (२०२२ मार्च १०देखि १४ मार्च) गतेसम्म हुनेछ ।
(कान्तिपुर दैनिक)
