
काठमाडौँ — १७ श्रावण २०७८
काठमाडौँ, नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) घट्ने क्रम गत जेठमा पनि जारी रह्यो । यसअनुसार गत जेठसम्ममा १६ अर्ब २० करोड रुपैयाँ एफडीआई मुलुक भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रिएको विदेशी लगानी १३.४ प्रतिशत कम हो ।२०७८ जेठसम्म १८ अर्ब ७८ करोड रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो । विदेशी लगानीको घट्दो प्रवृत्तिलाई विश्लेषकहरूले कोभिडको प्रभावसँग जोडेर हेरेका छन् । संक्रमणका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर देखिएको उनीहरूको विश्लेषण छ ।
तत्कालका लागि विदेशी लगानी घट्नुको कारण कोभिड देखिए पनि नेपालको संरचनागत र प्रक्रियागत अवरोधकै मुख्य कारण भएको जानकारहरूको भनाइ छ । लगानीमैत्री वातावरणका लागि अझै पनि धेरै प्रक्रियागत अवरोध रहेको देखिएको उनीहरूको तर्क छ । नीति निर्माता र कर्मचारीतन्त्रबीच तालमेल नभएकै कारण समस्या भएको एक जानकार बताउँछन् ।
कोभिडका कारण विश्वव्यापी रूपमा विदेशी लगानी घटिरहेको, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५’ लगानीकर्ताको अपेक्षाविपरीत (अनुदार) आउनु र विदेशी लगानीको सीमा (थ्रेसहोल्ड) ५० लाख रुपैयाँबाट बढाएर न्यूनतम ५ करोड रुपैयाँ पुर्याउनुलगायत कारण विदेशी लगानी घटेको जानकारको भनाइ छ । अघिल्लो आर्थिक वर्षका सबै महिनामा उच्च दरले बढेको विदेशी लगानी गत आर्थिक वर्षको सुरुकै महिनामा घटेको थियो । यसअनुसार २०७७ साउनमा विदेशी लगानी ३.३ प्रतिशत घटेर १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो । भदौमा विदेशी लगानी २३.३ प्रतिशत बढेर २ अर्ब ४४ करोड रुपैयाँ भित्रियो । तर असोजमा यस्तो लगानी २६.८, कात्तिकमा २४, मंसिरमा साढे ३१, पुसमा ३७.२, माघमा ३७.३, फागुनमा ३४.८, चैतमा २५, वैशाखमा १९.२ र जेठमा १३.४ प्रतिशत घटेको छ ।पछिल्ला वर्षमा नेपाल भित्रिने विदेशी लगानीमध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ ।
गत तीन आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी रहेको राष्ट्र बैंकको तथ्यांक छ ।लगानीको सम्भावना राम्रो रहेको, प्रतिफलको सुनिश्चितता भएको, पुनर्कर्जासँगै अन्य सहुलियत कर्जाको उपलब्धतालगायत कारण विदेशी लगानीकर्ता जलविद्युत् क्षेत्रमा आकर्षित देखिएको जानकारहरूको भनाइ छ । लगानीका लागि अझै पनि जग्गा प्राप्ति, स्थानीय निकायको किचलोलगायत थुप्रै व्यावहारिक कठिनाइ छन् । यही कारण विदेशी लगानीकर्ता स्वस्फूर्त रूपमा आउन सकेका छैनन् । व्यावहारिक जटिलता न्यूनीकरण नगरेसम्म अपेक्षित रूपमा विदेशी लगानी भित्रिन नसक्ने उनीहरूको भनाइ छ ।
(कान्तिपुर दैनिक)
