
काठमाडौं । गोरखाका पर्यटन व्यवसायी लाक्पा ढण्डुप लामाको जीवन कथामा आधारित डकुमेन्ट्री फिल्म चेसिङ दी ड्रिम भारतको इन्टरनेशनल फिल्म फेस्टिवल अफ सिम्लामा छनोट भएको छ । सो फिल्म फेस्टिवल हिमान्चल प्रदेशमा अगस्ट १४ देखि १६ सम्म तीन दिनको हुनेछ । सो डकुमेन्ट्रीको निर्देशन पत्रकार प्रदीप पोखरेलले गरेका हुन् । यसपालि हुन लागेको फिल्म फेस्टिवलको १० औं संस्करण हो । यस संस्करणमा नेपाल, भारत, अमेरिका, बेलायत, न्युजल्याण्ड, फ्रान्स, कोरिया, इरान, टुर्की, ग्रीस, पोर्चुगल, इजिप्ट लगायत दर्जनौ देशका एक सय २३ देशबाट फिल्म, डकुमेन्ट्री तथा सर्ट फिल्म छनोट भएको फेस्टिवलले आफ्नो वेभ साइटमा उल्लेख गरेको छ ।

प्रदीपको यस डकुमेन्ट्रीमा लामो समय विदेशमा बसेर गाउँ फर्केका लाक्पा ढन्डुल लामाको कथा समेटिएको छ । उत्तरी गोरखाको चुमनुप्री गाउँपालिकाको नामरुङ गाउँका लाक्पा सानै उमेरमा अवरसरको खोजीमा काठमाडौं आएका थिए । केही वर्ष काठमाडौंमा बसेर उनी समुद्रपार व्यापारको सिलसिलामा सिंगापुर पुगे । झण्डै १७ वर्ष त्यही बिताए । सिंगापुरलाई आधार बनाएर काम थालेका लाक्पालाई कामको सिलसिलामा ५० भन्दा बढी देशमा पुग्ने अवसर मिल्यो ।

डकुमेन्ट्रीमा देखाए अनुसार लाक्पा दुई दशक पछि गाउँ फर्कन्छन् । गाउँको दुःख देखेर उनी विदेश नफर्कने निस्कर्षमा पुग्छन् । २७ दिन लामो समय गाउँघरको अध्ययन भ्रमणमा बिताउँछन् । गाउँको दुरा अवस्था देखेर उनी बिदेश नजाने निस्कर्षमा पुग्छन् । गोरखाको उत्तरी क्षेत्रको पर्यटन विकासमा लाग्ने प्रण गर्छन् । मनास्लु क्षेत्रको पर्यटन प्रवर्धनमा लाग्छन् ।
उनी बिदेशमा भएको बेला त्यस भेगको प्रसिद्ध तीर्थस्थल सेराङ गुम्बाका लामाको निधन भएको हुन्छ । लाक्पा फर्केको केही समयपछि लामा गुरु पुनःजन्म लिएर आफ्नै पुरानो गुम्बामा फर्कन्छन् । हजारौं गाउँलेहरु लामाको स्वागतमा सेराङ गुम्वा पुग्छन् । लामाको आगमनले गाउँमा उत्साह उमङ्ग दिन्छ । गुम्बामा पुगेर लामाको दर्शन गरेपछि लाक्पा पनि गाउँमै बसेर केही नयाँ काम गर्ने अठोट लिन्छन् । डकुमेन्ट्रीको कथा यसरी नै अगाडि बढ्छ ।
लाक्पाले गाउँको संस्कार, संस्कृति संरक्षण अभियान चलाउँछन् । आफू जन्मेको गाउँमा हिमाली संग्राहलय निर्माणको थालनी गरेका छन् । यसका लागि हजारौं परम्परागत सामान संकलन गरेका छन् । मौलिकता झल्कने गरी बनाइएको नुब्री फोर सिजन रिसोर्ट संचालनमा आएको छ । विश्वप्रख्यात मनास्लु पदमार्गमा (लार्के पास) को रुटमा पर्ने यो रिसोर्ट गोरखाको नमूना हो । यहाँ पुग्ने पाहुनाले हिमाली कला, सभ्याता, जीवनशैली र संस्कृतिको स्वाद चाख्न पाउँछन् ।

हिमालयमा बढ्दो जलवायु परिवर्तनलाई न्यूनिकरण गर्न तीन सय रोपनी जग्गामा स्याउका बिरुवा लगाएर बृक्षरोपण अभियान चलाएका छन् । गाउँलेहरुलाई पनि स्याउ लगाउन प्रोत्साहन गर्छन् । अहिले नामरुङ गाउँमा स्याउ फल्न थालेको छ । उनको स्याउबारी पर्यटकको आकर्षक गन्तब्य बनेको छ । यहाँ स्याउको ब्रान्डीदेखि बिभिन्न परिकार उत्पादन हुन थालेको छ । दर्जनौं मानिसले रोजगारी पनि पाएका छन् । उनको यस बृक्षरोपण अभियानले उजाड बन्दै गएको गाउँमा हरियाली मात्र बनाएको छैन । गाउँमै बसेर नगद आर्जन गर्न सकिन्छ भन्ने शन्देस दिएको छ । चेसिङ दी ड्रिममा लाक्पाका यस्तै कथाहरु समेटिएका छन् । ।
निर्देशक प्रदीपको इन्टरनेशनल फिल्म फेस्टिवलमा छनोट भएको यो १२ औं डकुमेन्ट्री हो । उनले निर्देशन गरेको पहिलो डकुमेन्ट्री इन गर्डस् हार्ट ल्याण्ड सन् २००९ मा काठमाडौं इन्टरनेशनल फिल्म फेस्टिवल (किम्फ) मा वल्र्ड प्रिमियर भएको थियो । फिडेल देवकोटाद्वारा निर्देशन गरिएको दर्जनौ फिल्म फेस्टिवलमा प्रदर्शन भएको डकुमेन्ट्री साम्वला अ स्टोरी अफ प्याराडाइज लस्टको रिसर्च पोखरेल गरेका थिए । यस डकुमेन्ट्री पनि सन् २०११ किम्फ लगायत दर्जनौ फिल्म फेस्टिवलमा छनोट भएको थियो ।
सोही फिल्म फेस्टिवलमा उनले निर्देशन गरेको स्नो–लेपर्ड स्काउट सन् २०१४ मा छनोट भएको थियो । सन् २०१५ मा उनको राइजिङ फर इपिसेन्टरले किम्फमा अवार्ड जितेको थियो । उनको अर्को डकुमेन्ट्री अ सङ फर बारपाक पनि सन् २०१६ मा किम्फमा छनोट भएको पोखरेल बताउँछन् । यस डकुमेन्ट्रीले किम्फमा बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड हात पारेको थियो । सो डकुमेन्ट्री सन् २०१७ मा कोरियाको विश्वप्रसिद्ध डकुमेन्ट्री फिल्म फेस्टिवल डिएमजेड इन्टरनेशनल फिल्म फेस्टिवल मा छनोट भएको थियो । यस डकुमेन्ट्रीले बंगलादेशको ढाका इन्टरनेशनल फिल्म फेस्टिवल बंगलादेशमा पनि बेस्ट डकुमेन्ट्रीको अवार्ड जितेको थियो । सन् २०१८ मा पोस्ट अर्थक्विक रिविल्ट इन दी हिमालय पनि किम्फमा छनोट भएको थियो । २०२४ जनवरीमा हिउँ चितुवा संरक्षण सम्वन्धी डकुमेन्ट्री स्नो लेपर्डले सौराहा साउथ एशिया फिल्म फेस्टिवलमा अवार्ड जितेको थियो ।
त्यसैगरी निर्देशक पोखरेलका एजबार, लिटिज जोएज, अन थ्याङ्क फ्रेन्ड, ग्रेट टिचर नेपाल हुमनराइट्स इन्टरेनेशनल फिल्म फेस्टिवल, याला इन्टरनेशनल फिल्म फेस्टिवल, नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवल (निफ), मोस्ट्र फिल्म फेस्टिवल लगायत दर्जनौ फिल्म फेस्टवलमा छनोट भएका छन् । उनका डकुमेन्ट्रीले दर्जनौं इन्टरनेशनल अवार्ड पनि जितिसकेका छन् ।
