
लमजुङ सम्वाददाता
लमजुङ । राइनास नगरपालिका वडा नं ५ तिनपिप्लेवाट अबैधरुपमा झापा लैजान लागिएका २ वटा गोरु स्थानिय बासिन्दाले धनिको घरमा फिर्ता गरिदिएका छन् । यस अगाडि पनि राति राति गोप्यमार्गबाट अबैध रुपमा लैजाने गरिएकोमा आज बिहान मुलबाटोबाट नै लैजाँदै गर्दा स्थानियले रोकेका हुन् । राइनास नगरपालिकाले जनाए अनुसार ,कृषि अभियानमा खेत जोत्न स्थानिय गोरुको अभाव भएकोले स्थानिय गोरु संरक्षणका लागि विशेष कार्यक्रम राखेको छ । स्थानिय गाई गोरु संरक्षण गर्नेलाई अनुदानको समेत ब्यबस्था रहेको जनाएको छ । साथै संघिय कार्यक्रमबाट पनि यसका लागि थप कार्यक्रम आएको राइनास पशुपंक्षी शाखा प्रमुख शिवबाबु देवकोटाले बताउनु भयो ।स्थानिय गाई गोरु संरक्षणको कार्यक्रम केवल साँस्कृतिक कारणले मात्रै नभइ हाम्रो आबश्यकताले गर्न लागिएको र त्यसका लागि कार्यक्रम बजेट समेत ब्यबस्था भएको हुनाले कृषि कार्यमा उपयोग गर्ने बाहेकको अबस्थामा राइनासबाट स्थानिय गोरु लैजान नपाइने कुरा उपप्रमुख पुष्पराज खनालले बताउनु भयो । किसानले आफुले पालन पोषण गर्न नसक्ने भएमा सामुदायिक गौशाला बनाइ पालिकाले संरक्षण गर्छ उपप्रमुख खनाल बताउनु भयो । गोरु लैजाँदै गरेका सुन्दरबजार नगरपालिका निवासी ईन्दुराम चौधरीले आफुले पशुचौपाय बस्तुभाउ खरिद बिक्रिको इजाजत भएको प्रमाण देखाउँदै । आफुले खरिद गरेको गोरु लैजान पाउनु पर्ने यदि गोरु लैजान नपाए आफुले खरिद गरेको पैसा फिर्ता पाउनु पर्ने कुरा बताउनु भयो । नेपालबाट बर्सेनि हजारौं संख्यामा गोरु बंगलादेश निकासी हुने गरेको छ भने स्थानिय जातका गाई गोरु अब दुर्लभ हुन थालेको छ । गाई राष्ट्रिय जनाबर भएको मुलुकबाट स्थानिय जुरो भएका विभिन्न जातका गाई लोप हुंदा साँस्कृतिक परम्परा र कृषि क्षेत्र प्रभावित बनेको छ । यसको संरक्षणमा विशेष कानुन र कार्यबिधि बन्नु जरुरी छ ।
