Fast Nepal News

विमला प्रधान जाेशीका दुई बाल कविता

दार्जिलिङ, भारत निवासी विमला प्रधान जाेशी कवि, लेखिका तथा समीक्षक हुनुहुन्छ।

banner single news

इन्द्रेणी

घाम-पानी सँगै पर्दा
लाग्छ इन्द्रेणी
माला लगाऊँ भन्दा भन्दै
हराइजान्छ नि ।

इन्द्रेणीलाई सात रङ्गले
कति सुहाएको
किन फेरि हेर्दा हेर्दै
हराई गएको ।

वल्लो खोला पल्लो खोला
इन्द्रेणीले छुन्छ
हेर्दा खेरि रङ्ग बिरङ्गको
माला जस्तो हुन्छ।

उफ्री उफ्री नानीहरू
हेर्दै रमाउँछ
सात रङ्गे मालाले यो
दिलै समाउँछ ।

घाम-पानी पर्दाखेरी
इन्द्रेणी लाग्छ
घामलाई मात्र देख्दा
डराइ भाग्छ ।
~~~~~~

२.
चिसो पानी

Inside Article Ads

चिसो चिसो पानी
पिउनु हुन्न नानी
सधैँ तातो पानी पिउने
बसाल है बानी।

चिसो पानी पिउँदा खेरि
घाँटी दुख्न सक्छ
घाँटी दुखेपछि भित्र
घाउ भइ पाक्छ ।

नदेखिने किराकिरी
पानीमा नै हुन्छन्
पेटभित्र किरा पसे
रोग धेरै लाग्छन् ।

उमाली देऊ पानीलाई
किराकिरी मर्छ
रोग लाग्ने संभावना
पर परै टर्छ ।

सधैँ भन्छु नानीबाबू
पानी चिसो नपिउनु
उमालेकाे पानी खाई
स्वस्थ भइ जिउनु ।
~~~~~~
(दार्जिलिङ, भारत निवासी विमला प्रधान जाेशी कवि, लेखिका तथा समीक्षक हुनुहुन्छ । सुप्रसिद्ध साहित्यकार पारसमणि प्रधानकी नातिनी उहाँका दुईवटा कृति प्रकाशित छन् । यी कविता उनकाे प्रकाशाेन्मूख बालकविता सङ्ग्रहबाट लिइएको हाे ।)

Visited 55 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.